धनगढी, १४ भदौ/ ईलाका प्रहरी कार्यालय मालाखेतीले १५ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । गोदावरी नगरपालिकाका बिभिन्न नदीहरुवाट अबैध रुपमा ढुङगा, बालुवा लगाएतका नदीजन्य पदार्थहरु उत्खनन् गर्ने ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।
ईप्रका मालाखेतीवाट खटिएको प्रहरीको टोलीले शनिबार र आइतबार गरी १५ वटा ट्याक्टर नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए ।
आईतबार बिहान मात्रै गोदावरी नगरपालिका–९ सेहरीमा पर्ने तल्लो खुटिया नदीवाट १२ वटा भरिभराउ ट्याक्टर र शनिबार गोदावरी नदीवाट ३ वटा ट्याक्टर नियन्त्रणमा लिइएको उनले बताए ।
असारदेखि भदौसम्म बर्खायममा नदीहरु बन्द हुने र ढुङ्गा, गिट्टी, बालुवा लगायत नदीजन्य पदार्थहरु उत्खनन गर्न नपाइने सरकारको नियमानुसार ट्याक्टर नियन्त्रणमा लिइएको डिएसपी विष्टले जिकिर गरे । नियन्त्रणमा लिइएका ट्याक्टर गोदावरी नगरपालिकालाई बुझाइको छ । नगरपालिकाले कारबाही अगाडी बढाउने उनले बताए ।