धनगढी, १३ भदौ/ सुदूरपश्चिमका बाजुरा, अछाम, दार्चुला र बझाङ वाहेकका जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सार्वजनिक यातायात गत चैत ११ गते देखि सञ्चालमा आउन सकेका छैनन् । सार्वजनिक यातायात सञ्चालन नभएको मौका छोपी केहि निजी ट्याक्सी र माईक्रोहरु भने अत्तरियामा यात्रुहरुबाट मनोमानी तरिकाले भाडा असुलिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश राजधानी गोदावरीको अत्तरियाबाट छुट्ने माईक्रो तथा ट्याक्सीहरुले मनपरी तरिकाले भाडा असुलि रहेका हुन् । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरिएको भने पनि विना पास सञ्चालनमा आएका ती सवारी साधनहरुले कोरोना (कोभिड–१९) महामारीको मौका छोपेर स्वास्थ्य सुरक्षा नअप्नाएर नै कोचाकोच गरी यात्रुहरु ओसारपसार गर्ने गरेका छन् ।
गोदावरी नगरपालिका स्थानीय मेघराज भट्टले कोरोना महामारी बाट उत्पन्न भएको बन्दाबन्दीका मौका छोप्दै यात्रुहरुबाट मनपरी तरिकाले भाडा असुलि रहेको बताए । ‘कोरोना संक्रमण चौतर्फि छ । तर, अत्तरिया बाट जिल्लाको नाम लिदैँ यात्रुको हात समाएर गाडि भित्र काचेर ओसार्ने काम भईरहेको छ’, उनले भने । ‘तर, कसैलाई पनि वास्ता छैन् । कोरोना संक्रमण नफैलिहोस् भनेर निषेधाज्ञा जारी गर्ने । ट्याक्सीमा फरक–फरक ठाउँका यात्रुलाई कोचेर लिने अनि सार्वनजिक यातायात बन्द गरेर के गर्न खोजेको हो सरकारले ?’
सुदूरपश्चिमका ५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । प्रदेश राजधानी गोदावरीको अत्तरियाबाट दैनिक रुपमा माईक्रो तथा ट्याक्सीहरु तोकेको भन्दा दोब्बर÷तेब्बर भाडा लिइर दैनिक यात्रु ओसारपसार गर्ने काम भईरहेको छ । प्रहरी प्रशासन लगायत सरोकारवाला निकाय मौन बसका छन्।
अत्तरियाबाट दैनिक नीजि तथा सार्वजनिक माईक्रो बस र निजी ट्याक्सीहरु पास विना नै जाने गरेको स्थानीयहरुको भनाई रहेको छ । जिल्लामा निषेधाज्ञा भनिएता पनि अत्तरियाबाट दैनिक माईक्रो बसहरु जाने गरेको गोदावरी–१ का रुपेश विकले बताए । ‘कैलालीमा निषेधाज्ञा जारी गरिएको छ । अत्तरियाबाट २४ घण्टा गाडीहरु गईरहेका छन्’ उनले भने । ‘त्यो पनि तोकेका भन्दा तेब्बर भाडा लिने गरेका छन् ।’
स्थानीयहरु यसरी दैनिक रुपमा ट्याक्सी तथा हाईसहरु गईरहेमा निषेधाज्ञाको औचित्य नहुने बताउने गरेका छन् । प्रहरीले भने अत्तरियाबाट माईक्रो तथा ट्याक्सीहरु जाने नगरेको दावी गरेको छ । ‘अत्तरियाबाट कुनै किसिमका यातायातहरु जाने गरेको छैनन् । गईहाले पनि गोदावरी पार गर्न सक्दैनन्’ ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले भने । ‘यदि कुनै यातायातका साधनले पास विना नै यात्रुहरु ओसारपसार गरेको भेटिएमा कारवाही गर्न प्रहरी तयार छ ।’
कैलालीमा भदौ ४ गते देखि सुरु भएको निषेधाज्ञा पछि कुनै पनि यातायात सञ्चालन हुन सकेको छैनन् । जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा लम्ब्याएको छ । भदौ १९ गते सम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याएको हो ।