धनगढी, १२ भदौ/ धनगढीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि स्थानीय संक्रमितको संख्या बढ्दै गएको छ। उप–महानगरमा संक्रमण पुष्टि भएका झण्डै २२ प्रतिशत संक्रमित स्थानीय रहेका छन्। बिहिवार तीन जना स्थानीय संक्रमित थपिएसंगै धनगढीमा स्थानीय संक्रमितको संख्या ४८ पुगेको धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।
सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार धनगढीमा तीन जनामा कोरोना पुष्टि भएकोमा तीन जना नै स्थानीय संक्रमित रहेको खुलेका छ। जिल्ला स्वास्थ्य कार्यालय कैलालीले एक जना बैंकका कर्मचारी, एक जना सरकारी कर्मचारी र एक जना सरकारी कर्मचारीकी छोरीलाई संक्रमण पुष्टि भएको जानकारी दिए।
उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले हाल सम्म धनगढीका दुई सय २१ जनामा संक्रमण पुष्टि भएको बताउँदै ४८ जनाको ट्राभल हिस्ट्री नभेटिएको बताए। अहिले सम्म ट्राभल हिस्ट्री नभएका १२ जना स्वास्थ्यकर्मी, ५ जना सुरक्षाकर्मी, चार जना शिक्षक र चार जना व्यापारीमा संक्रमण पुष्टि भएको छ।
यस्तै तीन जना बैंकका कर्मचारी, दुई जना चालक, दुई जना निर्माण कम्पनीमा कार्यरत कर्मचारी, एक जना सरकारी कर्मचारी र एक जना एमआरमा पनि ट्राभल हिस्ट्री बिना नै कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै पाँच जना संक्रमित शिक्षिकाका परिवारका सदस्य र चार जना व्यापारीका परिवारका सदस्यलाई पनि कोरोना देखिएको छ। बाँकी पाँच जना भने सर्वसाधारण हुन्। उनीहरुमध्ये एक जना संक्रमितको मृत्यु भईसकेको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक उपाध्यायले बताए।
नेपालमा पहिलो पटक स्थानीय संक्रमण धनगढीमै फेला परेको थियो। दुबईबाट फर्किएका धनगढी–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा चैत १४ गते कोरोना संक्रमण पुष्टि भएकोमा चैत मसान्तमा नेपालमा पहिलो पटक स्थानीय संक्रमण उनकी भाउजुमा देखिएको थियो।