बझाङ, ११ भदौ/ प्रमुख जिल्ला अधिकारी (सिडीयो) कमलराज भण्डारी र बझाङका प्रहरी प्रमुख डिएसपी गणेश बम साइपाल गाउँपालिकाको धुलीमा थिए । त्यहाँ रहेको सिमा प्रहरी चौकीको निरिक्षणपछि उनीहरुको टोली जगेरा गाउँ तर्फ जाँदै थियो । जगेरा गाउँ र चौकीको विचमा पर्ने ओडारमा केही ओढ्ने ओच्छ्याउने लुगाको पोको पलाष्टिकले छोपिएको थियो ।
ओडारको डिलमा बसेका भर्खरै नुहाए जस्ता देखिने दुइ किशोरीहरु घाम तापिरहेका थिए । ओडारमा नजिकै रहेको खोल्सोमा एक हुल पाका महिलाहरु धारा सफा गरिरहेका थिए । अघिल्लो रातभरि परेको झरिपछि आएको बाढीले खोल्सोमा रहेको चारवटा धाराहरु बगाएको रहेछ । ती धारा यहाँको समुदायले पानी खानका लागि नभई छाउपडी भएका महिलाहरुले नहाउनका लागि बनाइएको रहेछ । यो थाहा पाए पछि सिडियोले एक महिलालाई सोधे, ‘यहाँ अझै छाउ बार्ने चलन छ ? यस्तो गर्नुभयो भने कानुन लाग्छ है ?’
सिडीयोको प्रश्नले केही महिलाहरुले मुखामुख गरे । कोहीले टाउको निहुँराए । साँच्चै कारबाही गर्ने पो हुन की ? भन्ने डरले कसैले ‘हामी छाउ बार्दैनौं ।’ भनेर झुटो बोले । यसै विच एक जना किशोरी आएर कड्किन थालिन ‘किन झुटा बोल्छौ । भएको कुरा भनन । छाउखुल्लो (छाउगोठ) भत्काएपछि कस्ता दुःख पायाकी छौं’ भन्दै उनले अरु महिलालाई बोल्न उक्साइन । यसरी धक फुकाएर कुरा गर्ने किशोरी थिइन । १७ वर्षिया मिना रोकाया ।
अघिल्लो रात मात्रै यस गाउँका ६ जना महिला महिनावारी भएका रहेछन् । नजिकै रहेका दुइ वटा ओडारमा चार जना खाँदिएर सुते पछि दुईजना किशोरीलाई सुत्ने ठाउँ अपुग भएछ । उनीहरुले गत पुसमा भत्काईएको खण्डहर छाउगोठमा एउटा काठको फल्याक ओच्छ्याएर र माथि पलाष्टिक हालेर रात काटेका रहेछन् । मिनाले यो बृतान्त सुनाएपछि रातभरी परेको दर्के झरीमा पलाष्टिक मुनी रात काट्ने मध्येकी एक १४ वर्षिया मुसुरी रोकायाकी आमा उजलीले साहस गर्दै अघिल्लो रातको घटना सुनाइन् ।
धुली गाउँ नै बगाउला जस्तो गरेर रातभरी परेको झरीमा नावालक छोरीहरुले पलाष्टिक मुनी रात काट्दा आफुलाई रातभरी निन्द्रा नपरेको बताउदै उनले आक्रोसित हुदै भनिन ‘छाउखुल्ला (छाउगोठ) पुडा भत्काया । हाम्रा दुःख हेरीझाउ’
उनीसँगै अरु महिलाहरुले पनि सरकारले छाउगोठ भत्काइदिएपछि महिनाबारीका बेला आफूहरुले अकल्पनिय कष्ट भोग्नु परेको विवरण सुनाउन थाले । कसैले महिनामा पाँच दिन ओडार र पलाष्टीकको ओतमा बस्नु पर्दा सिकिस्त विरामी भएको बताए । कसैले डेढ दुई वर्षका दुधे बालकलाई झरीबाट जोगाउनका लागि पाँच दिन सम्म सुत्दै नसुतेको कहाली लाग्दो कहानी सुनाए ‘ठुलो पानी पर्यो, छड्के हावा लाग्यो भने बाहिरको सबै पानी ओडार भित्र आउछ’ विरती रोकायाले भनिन ‘आफु त भिजेर निथु्रक्कै भइन्छ, बच्चा जोगाउन हैरान हुन्छ’ उनले धेरै दिन आफु रातभर भिजेर पनि दुइ वर्षकी छोरीलाई छातीको ओत दिएर बचाएको बताईन् ।
गत बर्ष पुष महिनामा प्रहरीले जवरजस्ती छाउगोठ भत्काए पछि हिउँदको महिनामा पनि यस्तै खालका दुख पाएको उनिहरुले सुनाए । ‘हिउँदमा त झन समस्या भयो । हामी त जसो तसो रात कटाई हाल्थ्यौ । बच्चा चिसो लागेर मर्ला भन्ने डर लाग्छ’ विरतीले भनिन ‘तिनचार महिना हिउँद कटाउन मुश्किल भयो । बर्खाका दुःख तपाईहरुले देखिहाल्नु भयो ।’
यसअघि साइपाल गाउँपालिकाले २०७५ सालमा जेठमा चलाएको छाउगोठ मुक्त गाउँपालिका अभियानका क्रममा यस गाउँमा रहेका ६ वटा छाउगोठ भत्काइदिए पछि स्थानिय महिलाहरुको समुहले बचत उठेको रकमबाट दुई तले गोठ बनाएका थिए । उनिहरुले तिन वर्ष देखी गर्दै आएको नियमित मासिक बचतको रकमले छाउगोठ निर्माण गरेको र त्यसको लागि ३५ हजार रुपैया खर्च भएको थियो । महिलाको आयआर्जनमा सहयोग गर्ने, साह्रो गाह्रो पर्दा चलाउने गरी घुम्तीकोषको लागि बचत गरेको रकमबाट बनाएको आठ जना सम्म सुत्न मिल्ने गोठ प्रहरीले भत्काइदिए पछि आफुहरु विचल्लीमा परेको यहाँ महिलाहरु बताउँछन् ।
‘गाउँपालिकाले पहिलेका छाउगोठ भत्काई दिए पछि ओडारमा सुत्नु भन्दा नयाँ घर बनाऔं भन्ने दिदिबहीनीको सल्लाहले बचतको सबै पैसाले छाउघर बनायौं’ स्थानिय फुलमती रोकायाले भनिन ‘खाइ नखाई जम्मा गरेको पैसाले बनाएको छाउघर फेरी पुलिस आएर भत्कायो । हाम्रो विचल्ली भएको छ’
२० प्रतिशत मात्रै महिला साक्षरता रहेको यस गाउँपालिकाका स्थानियमा लाँगा देवता प्रतिको आस्था निकै गडेर बसेको छ । यसको कारणले गर्दा यहाँका मानिसहरु कुनै पनि हालतमा छाउगोठमा बस्ने गरेको महिला अगुवाहरु बताउछन । छाउगोठ भत्काए पछि ओडार र खेतवारीका कान्लामा बस्तै आएको वडा नं ५ कि महिला स्वास्थ्य स्वंय सेविका गङ्गा देवी बोहराले बताईन । ‘गोठ भत्काए पछि केही दिन भित्र पनि बस्यौं ।’ उनले भनिन ‘कोही काँप्न थाले, कोही बेहोस हुन थाले पछि देउताले सहेन भनेर फेरी ओडारमा बस्न थालेका हौं’
गाउँपालिकाले विभिन्न चेतनामुलक कार्यक्रमहरु चलाएर गोठ भत्काउन लगाएको भए पनि यहाँका महिलाहरुले घर भित्र बस्न नमाने पछि बचतको रकमबाट छाउघर बनाएको र त्यो पनि प्रहरीले भत्काए पछि महिनाबारी भएका महिला र बालबालिकाहरु जोखिमपुणर् तरिकाले ओडारमा बस्ने गरेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘हामीले धेरै प्रयास गर्यौं । जिल्लाबाट प्रशिक्षक ल्याएर सम्झायौं तर सकेनौं । आफ्नो र बच्चाहरुको ज्यान जोखिममा राखेर यसरी बसेका छन’ उनले भने ।
‘गोठ भत्काउदैमा मानसिकता भत्किने रहेनछ’ यहाँका छाउपडीहरुको विजोग देखिसके पछि सिडीयो कमलराज भण्डारीले भने ‘प्रत्येक व्यक्तीमा यो चलन नराम्रो हो भन्ने सचेतना दिनलाई स्थानिय तहले सक्रियता लिनु पर्यो । कानुनले मात्रै अन्धविश्वास हटाउन गाह्रो रहेछ’ उनले सचेतना सँगसँगै सरकारी सेवा सुविधाहरुलाई पनि सँग जोडेर प्याकेजको रुपमा अभियान चलाउन सके मात्रै अन्धविश्वास तोड्न सहज हुने सल्लाह दिए ।
नेपाल सरकारको छाउगोठ भत्काउने अभियान अन्र्तगत बझाङमा तीन सय जति गोठ भत्काइएको भए पनि छाउ बार्ने प्रचलनमा खासै फरक नपरेको प्रहरी प्रमुख डिएसपी गणेश बमले बताए । ‘वर्षौ देखेको जड मानसिकता भत्काउन चेतना नै पहिलो शर्त रहेछ’ छाउबार्ने र बार्न बाध्य पार्ने विरुद्ध कानुन बने पनि यसको कार्यान्वयन जटिल भएको बताउदै उनले भने ‘जो पिडित छ, उसैलाई ल्याएर थुन्नु पर्ने अवस्था छ । यस्तोमा कानुन पनि प्रभावकारी नहुने रहेछ । बसन्तप्रताप सिंह/कान्तिपुर