धनगढी ९ भाद्र- हरेक वर्ष “हाम्रो संस्कृति र हाम्रो पहिचान नेपाल” नामबाट पाचँ दिनसम्म धनगढीमा गौरा महोत्सवको आयोजना गर्ने डेउडा गायक सुरत रावत (डोटेली कान्छा) यो वर्ष भने घरभित्रै छन् । कोरोनाका कारण कैलालीमा भएको निषेधाज्ञाले उनी यसपालि गौरामा घर बाहिर निस्कन पाएका छैनन् ।
डोटेली कान्छाले भने–‘कोरोना महामारीले संस्कृतिमा ठुलो प्रभाव पारेको छ, सामुहीक रुपमा मनाउने गौरा यो बर्ष घरभित्रै सिमित भयो ।’ गौरा मनाउन नपाउदाँ आफु दुखी भएको अनुभव उनले सुनाए । ‘बाचे बर्षैपिच्छे मनाउला गौरा, घरमै बसौ सुरक्षीत रहौ’ भन्दै उनले घरबाटै परम्परागत तरिकाले गौरा मनाउन सुझाव दिए ।
सामुहिक रुपमा मनाईने गौरा पञ्चमीका दिनबाट सुरु हुने गर्छ । गौराको पहिलो दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्ने गर्छन् । हरेक बर्ष पञ्चमीका दिनबाटै सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा महोत्सवहरु सुरु हुने गर्थे । तर यो बर्ष सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, बैतडी, डडेल्धुरा लगाएतका जिल्लामा पुर्ण तथा आंशीक रुपमा जिल्ला प्रशासन कार्यालयहरुले गरेको निषेधाज्ञाले गौरा सुनसान बनेको छ ।
वरिष्ट डेउडा गायक दल बहादुर बोगटीले कोरोनाले गौरा प्रभावित बनेको बताउदै घरबाटै भएपनि सुदूरपश्चिमको मौलिक संस्कृती जगेर्नाको निम्ती सबैले लाग्नुपर्ने बताए । ‘अरु बर्षको जस्तो भिडभाड नगरौ, घरबाटै रमाईलो, बाचे अर्को बर्ष मनाउली गरौ ।’ बोगटीले भने–‘सामाजिक सञ्जालबाट शुभकामना आदानप्रदान गरौ, महामारीमा बाँच्नुनै सबैभन्दा ठुलो कुरा हो, सुदूरपश्चिमको मौलिक संस्कृति लोप हुनु हुदैन् ।’
बर्षैपिच्छे धनगढी रंगशालामा हुने गौरा तथा डेउडा महोत्सव लाई स्मरण गर्दै उनले यो बर्ष सबैलाई भिडभाड नर्गन र घरभित्रै बस्न सुझाए ।
कोरोनाका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले भदौ ४ गते राति १२ बजेदेखि १४ गतेसम्म राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाकै कारण कैलाली सुनसान बनेको छ । सुदूरपश्चिमको महत्तपुर्ण पर्व यसपालि खल्लो भएको उनले बताए ।
हरेक बर्ष गौरामा सबैभन्दा बढी किनमेल हुने गरेकोमा यो बर्ष शुन्यमा झरेको व्यापारीहरुको भनाई छ । गौरा पर्वको लागी भनेर बजारमा लुगाकपडा आयात भएको भए पनि निषेधाज्ञाका कारण सामान किनमेल गर्न पाएका छैनन् । स्थानिय रेबती जोशीले भनिन्–‘सधै गौरामा बुवाले नयाँ लुगा किन्दीनु हुन्थ्यो, यो बर्ष त नयाँ लुगा किन्नसम्म पाईएन् ।’ संस्कृतविद प्राध्यापक डा.टिएन जोशीले यसपालि गौरा घरभित्रै सिमित भएको बताए । निषेधाज्ञा कारण घर बाहिर निस्कन नपाएपनि सबैले आ–आफ्नै तरिकाले घर घरमै गौरा मनाईरहेका छन् ।’ उनले भने–‘गौरा सुदूरपश्चिमको मौलिक र ठुलो पर्व हो, यसलाई जगेर्ना गर्नु सबैको दायित्व हो ।’
सुदूरपश्चिमबाट गौरामा पहिलो पटक पिएचडी गरेका जोशीले गौरा के हो ? भन्ने प्रश्नमा यसरी सुनाए । (छोटकरीमा)
हिमालयकी पुत्रि पार्वतिले पौराणीक कालमा शिवजीलाई नै वर पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर, कष्टपुर्ण तपस्या गरिन त्यसको परिमाण स्वरुप महादेवलाई पति पाईन् । त्यो कुरा पुराणमा उल्लेख छ । त्यसै पुराणलाई आधार मानेर यो गौरा पर्व भारतको कुमाउ गड्वालबाट नेपालको सुदूरपश्चिममा भित्रिएको हो ।
गौरा पर्व पौराणीक कालदेखी मनाउदै आएको छ, गौरा खासगरि महिलाहरुको चाँड हो । महिलाहरुमा पनि बाहुन, क्षेत्री र ठकुरी जातका विवाहीत महिलाले मात्रै यसको वर्त बछिन् । हरेक बर्ष भाद्र शुक्ल पञ्चमी देखी अष्ठमीसम्म यो पर्व मनाईन्छ । पञ्चमीका दिन विवाहित महिलाले निराहार व्रत बसेर फाग गाउँदै तामाको भाडामा गहु, केराउ, गहत, मास र गुरौज लगायतका पञ्च अन्न अर्थात विरुडा भिजाईयो । महेश्वर (महादेव) को पूजा गरी विरुडा राख्ने कार्य गरेर गौरा पर्व मनाउन सुरु हुने गरिन्छ ।
जोशीका अनुसार गौरालाई षष्ठीका दिन पञ्च वनस्पति (धान, साँउ, तिल, बेल र पाती) को प्रतिमा बनाएर पँधेरामा राखेर पूजा गर्ने र विवाहित महिलाले गौरा पर्वमा ब्रत बसी दुवो–धागो धारण गर्नुपर्ने र पुरुष सरह गायत्री जप गरी खाना खाने प्रचलन रहेको छ ।यस्तै सप्तमीका दिन गौरालाई विवाहित महिलाले निराहार दिनभरी ब्रत बसेर आफ्नो परिवार लगायत आफन्तको सुख, समृद्धि र चिरायुको कामना गर्दै गौरा राख्ने ठाउँमा महेश्वरको पूजा गर्ने चलन रहेको छ ।
अष्टमीका दिन आएर निराहार ब्रत बसेकी महिलाले गौरा राख्ने ठाउँमा पञ्ज वनस्पतीले बनाएको गौराको प्रतिमालाई रेशमको कपडामा बेरेर महेश्वरको प्रतिमा नजिकै गौराको फाग सृुनाएर कथा गाउने र पूजा गर्दै महेश्वरको प्रतिमालाई टाउकोमा राखेर नाच्दै देउडा लगायत खेलाउँदै रमाइलो गर्ने प्रचलन रहेको छ ।
गौरा पर्वको महत्वपूर्ण दिन भनेर अष्टमीलाई मानिने गरिन्छ । अष्टमीमा महिलाले बिहानै स्नान गरेर पञ्ज वनस्पतीबाट बनेको गोरा देवीको प्रतिमा र महेश्वरको प्रतिमालाई घरबाट बाहिर ल्याएर आगनमा फाग गीत गाउँदै टाउकामा राखेर नाच्ने गरिएको छ ।यसै अवसरमा गौराको पहिलो दिन भिजाएको पाँच अन्नबाट बनाएको विरुडाबाट गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने प्रचलन रहेको उनले बताए । ब्रत बसेका महिलाले अठेबालीका दिन गौराको प्रतिमालाई टाउको राखेर नचाउने र पुरुषले भने धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने चलन छ ।