धनगढी, ७ भदौ/ सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बाढी ग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् । गत मंगलबार राती अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाम रामारोशन ५ सैनी बजार बगाएको थियो ।
बाढीले बस्ती बगाउँदा ७ जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता छन् । बाढीले क्षति पुराएको क्षेत्रको स्थलगत निरीक्षणमा मन्त्री बोहरा शुक्रबार धनगढीबाट निस्किएका हुन् ।
शनिवार मन्त्री बोहराले शनिवार साँफेबगर क्षेत्रका बाढी कटान क्षेत्रको निरीक्षण गरेका थिए । आइतबार रामारोशन गाउँपालिका वडा नम्बर गज्जड बजार, वडा नम्बर २ र ३ को मुजा बगर बजार लगाएतका क्षेत्रमा निरीक्षण गरिएको मन्त्रालयको निजी सचिवालयले जनाएको छ । निरीक्षणमा गाउँपालिका अध्यक्ष झंकर बहादुर साउद लगायतको सहभागिता रहेको थियो ।
मन्त्री बोहराले आफ्नो व्यक्तिगत खर्चमा पीडितहरूलाई राहतको समेत व्यवस्था गरेका छन् । ७० क्युन्टल चामल दाल र ६३ हजारको स्वास्थ्य सामाग्री लगाएतका खाद्य सामाग्री स्थानीय तहलाई हस्तान्तरण गरेको सचिवालयका सदस्य आर्दश साउँदले जानकारी दिए ।
बाढी प्रभावितहरूको अवस्था बुझ्न स्थलगत रुपमा प्रभावित क्षेत्रमै मन्त्री पुगेपछि स्थानीय खुसी भएका थिए । उनीहरूले मन्त्री बोहरासँग दिगो व्यवस्थापन र नदी कटान नियन्त्रणको माग राखे ।
मन्त्री बोहराले विपद्बाट ज्यान गुमाएका परिवारलाई प्रदेश सरकारले १ लाख रुपैयाँ दिने र राहत स्वरूप थप १ करोड उपलब्ध गराउने निर्णय भएको समेत स्थानीय बासीलाई जानकारी गराएका थिए ।