धनगढी, ४ भदौ/ अछामको रामारोशन गाउँपालिकामा आउको बाढी पीडितको लागि आर्थिक सहयोग जुटाउने कार्य भईरहेको छ । सैनी बजारमा बाढीबाट पीडितलाई नेपाल रेडक्रस सोसाइटी अछाम शाखाले मंगलसेनमा ५४ हजार रुपैयाँ बढी आर्थिक संकलन गरेको छ ।
सदरमुकाम स्थित कार्यालय र संघ संस्था बाहेक बजार क्षेत्रबाट ५४ हजार ५ सय ९२ रकम सहयोग संकलन भएको रेडक्रस सोसाइटी अछामका सभापति रत्नप्रसाद ढुंगानाले जानकारी दिए । बाढी पीडितलाई मानवीय सहयोगका रुपमा मंगलसेन बजारमा व्यवसाय गरिरहेका दुई सय ५० व्यक्तिबाट उक्त रकम संकलन गरिएको बताइएको छ ।
रकम संकलनको अभियान रेडक्रसको मंगलसेन उपशाखा, नागरिक समाज, मंगलसेन युवा सञ्जाल, नेपाल स्काउट, अछाम क्याम्पस युवा रेडक्रस सर्कलको सहगागितामा चलाइएको रेडक्रसकर्मी धनबहादुर केसीले जानकारी दिए । संकलित रकम सैनीबजारका पीडितलाई हस्तान्तरण गरिने बताइएको छ । रामारोशनको सैनीबजारमा मंगलबार राति कैलाशखोलाको बाढीले १७ जना वेपत्ता भएकोमा १२ जनाको शव प्राप्त भएको छ भने ठूलो भौतिक क्षति भएको छ ।
