काठमाडौं । चीनसँग जोडिएका नेपालका मुख्य दुई नाका बन्द हुन पुगेका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सीमा वारपार गर्ने बाटो अवरुद्ध हुँदा चीनतर्फका दुबै नाका रसुवागढी केरुङ्ग नाका र तातोपानी नाका बन्द हुन पुगेका हुन् ।
रसुवागढी–केरुङ्ग नाका अगष्ट १६ अर्थात् साउन ३२ गते आएको अविरल वर्षसँगै नेपाल र चीन गरी दुबैतर्फ ठाउँठाउँमा गएको पहिरोका कारण अवरुद्ध हुन पुगेको छ भने तातोपानी नाका यसअघि नै असार ५ गतेको पहिरोका कारण अवरुद्ध हुँदै आएको छ ।
चीनसँग जोडिएका दुवै मुख्य नाका बन्द हुनपुग्दा यतिखेर चीनबाट कुनै पनि मालसामान नेपाल प्रवेश गर्न पाएका छैनन् । हवाई यातायात बन्द भएको र स्थलमार्गका दुवै नाका ठप्प हुँदा चीनबाट सामानहरु नेपाल ल्याउन नसकिएको व्यवसायीहरु बताउँछन् ।
अगस्ट १६ को अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण रसुवागढी–केरुङ्ग नाका पूर्ण रुपमा अवरुद्ध हुँदा करोडौँको मालसामान केरुङ्ग सीमा पारिनै अलपत्र हुनपुगेको रसुवागढी भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।
‘गत अगष्ट १४ कै बाढीपहिरोले सीमानामा आंशिक अवरोध पु(याएको थियो । तत्काल अवरोध खुलाएपछि नाका सुचारु हुँदा नहुँदै त्यसको दुई दिनपछि नै आएको अविरल वर्षाका कारण बाढीपहिरो जाँदा नाका पूर्ण रुपमा अवरुद्ध हुन पुगेको छ,’ भन्सार प्रमुख खड्काले भने, ‘नेपाल र चीन दुबैतर्फ ५–७ ठाउँमा ठूला पहिरो गएका छन् । पहिरोका कारण बाटो अवरद्ध हुँदा करोडौँको मालसामान उतै ९चीन तर्फ० रोकिन पुगेका छन् ।’
दशैंतिहारका लागि मालसामान लोड गर्न गएका सयौंको संख्यामा रहेका कन्टेनरहरुसमेत पहिरोका कारण उतै रोकिन पुगेका छन् । खड्काका अनुसार यसरी रोकिएका मालसामानको परिमाण करिब २०–२५ सय कन्टेनरको हाराहारीमा छ । यसरी रोकिएका मालसामान नेपाल आउन नसके यसले दशैंतिहारको बजारलाई प्रभावित पार्न सक्ने भन्सार प्रमुख खड्काको भनाइ छ ।
त्यसो त यसअघि नै लकडाउनपछि ११ सय कन्टेनरको हाराहारीमा मालसामान रोकिएको भनिएकोमा थप दशैंतिरहारका लागि व्यवसायीहरुले नेपाल ल्याउन तयार गरेका १२–१५ सय कन्टेनर सामान समेत पहिरोका कारण उतै रोकिन पुगेका छन् ।
कोभिड–१९ पछिको १२० दिन लामो लकडाउनपछि गत असार २२ गतेदेखि मात्र सुचारु भएको रसुवागढी नाकाबाट चिनियाँ पक्षले दैनिक चारवटा मात्र कन्टेनर नेपाल प्रवेश गर्न दिँदैआएको थियो ।
अहिले छिटोभन्दा छिटो नाकाको अवरोध खोल्न दुबै पक्ष तयार भएको भन्सार प्रमुख खड्काले रातोपाटीलाई बताए । ‘अहिले हामी जतिसक्दो चाँडो नाका खुलाउने प्रयत्नमा छौं । नाका खुलाउने पक्षमा चिनियाँ पक्ष पनि सकारात्मक नै छन् । हामीले गरेको पहलमा बेइजिङ्गले समेत चासो दिएको छ,’ उनले भने, ‘सम्भवतः अब चाँडै नै नाका सुचारु हुन्छ ।’
अहिले नेपाल तर्फको अवरोध खोल्न सडक विभागसहित चिलिमे जलविद्युत आयोजनाले समेत पहल गरिरहेको उनको भनाइ छ । उता चीनतर्फ ग्याविङ्ग वाल ९रिटेनिङ्ग वाल० उठाउने काम भइरहेको उनले जानकारी दिए ।
खड्काका अनुसार नेपालतर्फ तातोपानी, टिमुरे, लिङ्गलिङ्गे, पुलुङ्ग खोला लगायत रसुवागढीका ५–७ ठाउँमा पहिरो गएको छ भने चीनतर्फ थोक्सा केरुङ्ग नजिक ५–७ किलोमिटर आसपासमा ठूल पहिरो गएका छन् । अहिले तीन चारवटा एक्साभेटर लगाएर बाटो खोल्ने काम भइरहेको भन्सार प्रमुख खड्काले बताए ।
यता, तातोपानी नाकातर्फ भने गत असार ५ गतेको आएको अविरल वर्षासँगैको बाढीपहिरोका कारण बाटो अवरुद्ध हुँदा भन्सार नाका बन्द हुन पुगेको हो । तातोपानी तर्फको नाका पनि खोल्ने प्रयास भइरहेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिएका छन् ।