काठमाडौं–नेपाली कांग्रेसले प्रेस काउन्सिलमा सरकारको ठाडो हस्तक्षेप भएको जनाएको छ। प्रेस काउन्सिललाई प्रधानमन्त्री केपी शर्मा ओलीनिकट गुटको अधिनमा राख्ने प्रयास भएको कांग्रेसको आरोप छ। प्रवक्ता विश्वप्रकाश शर्माले भने,‘प्रेस काउन्सिललाई केही निश्चित व्यक्तिको नियन्त्रणमा राख्ने ढंगले चालिएको कदमप्रति नेपाली कांग्रेस प्रष्ट विमति राख्छ।’
मिडिया काउन्सिल विधेयक ल्याएर प्रेस काउन्सिलको औचित्य र अस्तित्वलाई नामेट गराउने सरकारको दुस्प्रयास विगतमा देखिएको उल्लेख गर्दै शर्माले भने,‘विधेयकले मूर्त रुप पाउन नसकिरहेको बेला सरकारले ठाडै हस्तक्षेपमार्फत् काउन्सिललाई नेकपाका अधिनमा राख्न खोजेको छ।’
कांग्रेस विधिको पक्षमा रहेको उनको भनाइ छ। शर्माले भने, ‘मुख्य प्रश्न नेपाली प्रेसलाई स्वतन्त्र ढंगले कार्य गर्न सहज तुल्याउने र प्रेसलाई मर्यादित राख्न कसैको पनि दबाबमुक्त उत्प्रेरणाको कार्य गर्ने थलोको हो।’ विगतमा कुनै कमजोरी भएको भए त्यसलाई नजिर बनाएर दोहोर्याउन नहुने शर्माको तर्क छ। काउन्सिललाई राजनैतिक आग्रहमुक्त स्वतन्त्र प्रेसको उच्च गरिमा राख्ने थलोका रुपमा परिस्कृत गर्नुपर्ने उनले बताए।
नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन प्रयास भइरहेको उनले जनाए। सरोकारवाला पक्षसंग संवाद र सहमति विना गरिएका निर्णयको कांग्रेसले समर्थन नगर्ने उनको भनाइ छ।