झलारी १ भाद्र- महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाको कार्यपालिका बैठकले अर्कै र निर्णय पुस्तिकामा निर्णय साभार गर्दा अर्कै लेख्ने गरिएको पाईएको छ । कार्यपालिकाको बैठकमा भएका निर्णयलाई निर्णय पुस्तिकामा उत्तार गर्दा फेरबदल गर्ने गरिएको पाइएको हो ।
हालै बसेको नगरपालिकाको कार्यपालिका बैठकमा निड्स नेपालले सञ्चालन गर्ने आइपिएम पाठशाला तालिम वडा नं ३ र ८ मा गर्ने निर्णय र नगरपालिकामा बाहिरबाट आउने कर्मचारीलाई सरुवा सहमति नदिने निर्णय गरिएको नगर उप प्रमुख तुलसीदेवी हमालले बताइन् ।
उनका अनुसार निर्णय पुस्तीकामा निर्णय साभार गर्दा निड्स नेपालद्वारा सञ्चालन गर्ने आइपिएम तालिम वडा नं। ३ र ५ मा सञ्चालन गर्ने गरी क्षेत्र छनौट गर्ने र नगरपालिकामा बाहिरबाट आउन चाहने कर्मचारीहरुलाई सरुवा सहमति दिने भनि यस भन्दा पूर्व कार्यपालिकाबाट निर्णय भएकोमा स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई यस नगरपालिकामा सरुवा भइ आउन आवश्यकता अनुसार सरुवा सहमति दिने निर्णय गरिएको छ भनी उल्लेख गरिएको छ ।
कार्यपालिकामा भएको निर्णय अनुसार निर्णय पुस्तीमा अर्कै कुरा लेखिएको पाईएपछि त्यस विरुद्ध आपत्ति जनाईएको नगर उप प्रमुख हमालले बताइन् । यस अघि पनि यसरी नै निर्णय आफू खुसी फेरबदल हँुदै आएका छन्’ उनले भनिन्, ‘यो त अति भएपछि यसका विरुद्ध आपत्ति जनाएका छौं ।’नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशन सिंह थापालाई आफनै कार्यकक्षमा बोलाएर नगर उप प्रमुख हमालले निर्णयका दुई बुँदा कसरी फेरिएको भनेर स्पष्टीकरण सोधेकी छन् ।
प्रमुख प्रशासकीय अधिकृत थापाले कार्यपालिका बैठकमा सुन्नमा फरक भएकाले उत्तार गर्दा फरक पर्न गएको जवाफ दिएका छन् । तत्काल दुवै निर्णयलाई सच्याउनका लागि पहल गरिने उनको भनाई छ ।कार्यपालिका सदस्य विमला सार्कीले शिक्षा समितिका पुरानै सदस्यहरुको म्याद थप्ने कार्यपालिकाको बैठकको निर्णयको विरोध गरेका छन् । सो निर्णयको विरोध गर्दै उनले निर्णय पुस्तिकामा फरक मत राखेका छन् ।
निर्णय पुस्तिकामा फरक मत राख्दै उनले संघीय शिक्षा ऐन दफा ११ ९ट० संग बाझिने गरी नगरपालिकाले नगर शिक्षा सञ्चालन कार्यविधि २०७५ अनुरुप गठित समानुपातिक समावेशी सिद्धान्तमा आधारित नभएको नगर शिक्षा समिति नै अमान्य रहेको साथै समयावधि समाप्त भएको नगर शिक्षा समितिको म्याद थप गर्ने कुरा संघीय शिक्षा ऐन एवम कथित अमान्य कार्यविधिमा समेत कही कतै उल्लेख नभएकाले निर्णय नं ६ मा पूर्ण असहमतीका साथ फरक मत रहेको कुरा उल्लेख गरेका छन् ।
नगरपालिकाको कार्यपालिका बैठकले शिक्षा समितिका पदेन सदस्य बाहेक अन्य सदस्यहको म्याद समाप्त भएकाले नगर शिक्षा समितिका नयाँ सदस्यहरु मनोनित नभएसम्म पुरानै सदस्यरुलाई निरन्तरता दिने निर्णय गरेको थियो ।