धनगढी, १ भदौ/सुदूरपश्चिम भएर भारतबाट झण्डै चार लाख मानिस फर्किएका छन्। विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको महामारीपछि रोजगारीका सिलसिलामा भारत गएका झण्डै चार लाख मानिस फर्किएको सरकारी तथ्याङ्क रहेको छ।
सरकारले लकडाउन जारी गरेपछि गत चैतमा मात्र भारतबाट एक लाख ४५ हजार बढि मानिस स्वदेश फर्किएको स्थानीय प्रशासनले जनाएका छन्। जेठ यता मात्र भारतबाट दुई लाख २४ हजार नेपाली सुदूरपश्चिमका सीमानाका भएर फर्किएका छन्।
कैलालीको त्रिनगर भन्सार नाकाबाट सबैभन्दा बढि एक लाख १२ हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।
जोशीका अनुसार जेठ २ गतेदेखि भारतसँग समन्वय गरी आईतबार सम्म सीमानाकाबाट एक लाख १२ हजारलाई स्वदेश भित्र्याईएको हो।
यस्तै कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक लाख १२ हजार, बैतडीको झुलाघाटबाट तीन हजार पाँच सय २८ र दार्चुलाबाट करिब दुई हजार जना फर्किएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन्।
सुदूरपश्चिमा फागुन २३ देखि चैत २२ गते सम्म मात्र एक लाख ४३ हजार भित्रिएका छन्। प्रदेशका चार जिल्ला कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाका सीमानाकाबाट फर्किएका झण्डै चार लाखमा अधिकांश सुदूरपश्चिमकै भएको अनुमान गरिएको छ।