धनगढी, ३१ साउन/सुदूरपश्चिम प्रदेशसभाल भरखरै पारित गरिएको रेडियो, एफएम र टेलिभिजन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयकका केही प्रावधानहरुप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रदेशसभाद्धारा पारित विधेयकका केही व्यवस्थाले पूर्ण प्रेस स्वतन्त्रता सम्बन्धि नेपालको संविधानले व्यवस्था गरेको मूल मर्म तथा स्वतन्त्र प्रेसको मान्यता, सिद्धान्त र व्यवहार विपरीत रहेको पत्रकार महासंघको ठम्याई रहेको जारी गरिएको विज्ञप्तीमा भनिएको छ ।
प्रदेश सरकारले प्रदेशसभामा विधेयक दर्ता गरेकै बेलादेखि विभिन्न चरणमा छलफल तथा विवेचना, प्रदेश सभाका सभामूख, मन्त्री, विधायन तथा प्रदेश मामिला समितिका सभापति लगायत प्रदेश सभाका सदस्यहरु समक्ष प्रस्तावित विधेयकका केही प्रावधानहरुले स्वतन्त्रतापूर्वक समाचार प्रवाह गर्न तथा नागरिकले निर्वाध रुपमा सूचना प्राप्त गर्न पाउने हकमा कठिनाई उत्पन्न गर्न सक्नेमा गम्भीरतापूर्वक अवगत गराएर ध्यानाकर्षण गराउँदा पनि त्यसको सुनुवाई नभएको पत्रकार महासंघका सचिव योगेश रावलद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘त्यस बखत उहाँहरुले स्वतन्त्र प्रेसको मर्मको प्रतिकूल हुने कुनै पनि व्यवस्थाहरु नहुने प्रतिवद्धता गर्नु भएको थियो । तर प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल तथा नेताहरुले यतिबेला एकमत भएर विधेयक पारित गर्ने कार्यले प्रेस जगतलाई अचम्मित बनाएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ– ‘अझ विधायन समितिमा छलफल हुँदाका बखत प्रेससँग सम्वद्ध कुनै पनि प्रतिनिधिहरुको राय सुझाव नलिईनुलाई मुख्य सरोकारवाला पक्षलाई पूर्ण वेवास्ता गरेको हामीले बुझेका छौं ।’
