धनगढी, ३० साउन/धनगढी उपमहानगरपालिका–१४ फूलवारी प्रहरी चौकीमा मृत भेटिएका पुरुषका आफन्तले शव बुझेका छन्। जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा घटनाको निष्पक्ष छानविन गरी वास्तविकता बाहिर ल्याउने सहमती भएपछि मृतकका आफन्तले शव बुझेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले सीमा प्रहरी चौकी बहुलियामा मृत भेटिएका ४५ वर्षीय अमरबहादुर चन्द शव आफन्तले बुझेको बताए।
उनले घटनाको छानविन गरी वास्तविकता पत्ता लगाएर आवश्यक कानूनी प्रक्रिया थाल्ने समझदारीपछि आफन्तले शव बुझेको बताए । गत मंगलबार राती पक्राउ गरेर सीमा प्रहरी चौकीले थुनामा राखेका चन्द घाटी रेटिएको अवस्थामा बुधबार बिहान मृत भेटिएका थिए।
प्रहरीले उनी चौकीको शौचालयमा लडेको अवस्थामा भेटिएको बताउँदै आएको छ भने शौचालयमै ब्लेड समेत भेटिएकाले चन्द आफैैले घाँटी रेटेको दावी गरिएको छ।
तर मृतकका आफन्तले भने घटनाबारे प्रहरीले जानकारी नदिएको, मृत्यु भईसकेपछि जबरजस्ती जाहेरी दिन लगाएको लगायतका कारणबाट घटना शंकास्पद रहेको भन्दै निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।
बीहिबार चन्दको प्रहरी हिरासत भित्रै हत्या भएको भन्दै स्थानीयले सीमा प्रहरी चौकीमा प्रर्दशन समेत गरेका थिए। चन्दको आजै दाहसंस्कार गरिने परिवार स्रोतले जनाएको छ ।