धनगढी, २५ साउन/ सुदूरपश्चिम प्रदेश सभाको आइतबारको बैठकमा प्रतिपक्षी दलहरु अनुपस्थित भएर विरोध गरेका छन ।
प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको विशेष सम्बोधन कार्यसूचिमा नभएपछि प्रतिपक्षी दलहरु बैठकमा सहभागि नभएको जनाइएको छ ।
साउन २० गते बसेको प्रदेश सभाको कार्यपरामर्श समितिको बैठकमा २२ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विशेष सम्बोधन गर्ने सहमति भएको थियो । २२ गते मुख्यमन्त्रीले तयारी नपुगेको भन्दै समयको माग गरेका थिए । सोही अनुसार सभामुख थापाले २५ गते (आईतबार) बैठक आह्वान गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने –‘आजको बैठकमा मुख्यमन्त्रीको सम्बोधन कार्यसूचिमा समेटिएको थिएन । त्यसैले हामी पनि बैठकमा नगई संसदीय दलको कार्यालयमा बसेका छौं ।’ उनले कार्य परामर्श समितिको बैठकमा भएको सहमति अनुसार सदन अघि बढ्नुपर्ने बताए ।
उनले भने –‘आजको सदन सञ्चालनको अवस्थाले प्रतिपक्षी दल र समग्र सदनकै अपमान भएको छ ।’ उनले मुख्यमन्त्रीले सदनलाई र प्रतिपक्षी दलहरुलाई अपमान गरेको आरोप लगाए ।
सुदूरपश्चिम प्रदेश सभाको आजको बैठकमा सुदूरपश्चिम प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक र प्रदेश लोक सेवा आयोग संशोधन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूचि सार्वजनिक गरिएको थियो ।
प्रदेशका सभामुख अर्जुनबहादुर थापाले कार्यपरामर्श समितिमा सहमति भएपनि मुख्यमन्त्रीले आइतबारनै पत्र पठाएर २७ गतेको समय माग गरेको बताए । उनले भने –‘मुख्यमन्त्रीले २७ गते बोल्ने भनेर पत्र पठाएपछि हामीले विधेयकमाथिको सामान्य छलफल अघि बढाउन भनी कार्यसूचि तयार गरेका थियौं ।’ उनले सामान्य कुरामा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने सुझाव दिए । उनले भने –‘मुख्यमन्त्रीले बोल्छु भनेकै छन तर, मुख्य एजेण्डालाई एकातिर राखेर सहायक एजेण्डामा सदनलाई बन्धक बनाइन लाग्यो । यो ठिक होइन ।’
सुदूरपश्चिम प्रदेश सभा बैठक : प्रतिपक्षी दलहरु अनुपस्थित भएर विरोध
सुदूरपश्चिम प्रदेश सभा बैठक : प्रतिपक्षी दलहरु अनुपस्थित भएर विरोध