धनगढी, २४ साउन/कोरोना भाइरस कोभिड –१९का संक्रमण दर बढदै गएको भन्दै जिल्ला प्रशासन कार्यालय कैलालीले सवारी पासका लागि निवेदन दिने तथा पास वितरण गर्ने समय तोकेको छ । अब पास लिन चाहनेले प्रशासनले भने अनुसारको समय तालिकामा सम्पर्क राख्न सक्ने भन्दै सूचना जारी गरिएको छ ।
सवारी पास लिने सेवाग्राहीको भिडभाड तथा समाजिक दूरी कायम नहुने अवस्था भएका कारण कार्यालयको सेवा प्रवाहमा कठिनाई र संक्रमण फैलिने सम्भावना रहेको भन्दै उक्त तालिका सार्वजनिक गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
तालिका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान १० बजेदेखि १ बजेसम्म र शुक्रबार १० बजेदेखि १२ बजेसम्म सवारी पास लिन चाहनेले प्रशासन कार्यालयको मूल गेटमा निवेदन दिन सक्नेछन् ।
यस्तै सवारी पास वितरण भने आइतबारदेखि बिहिबारसम्म दिउँसो ३ः३० बजेदेखि ४ः४० सम्म र शुक्रबार दिउँसो २ बजेदेखि २ः५० सम्म उक्त मूल गेटबाटै हुने प्रशासनबाट जारी सूचनामा उल्लेख छ ।
