धनगढी २० साउन/ सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ।
सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, भेरी अस्पताल नेपालगञ्ज र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या पाँच हजार नजिक पुगेको हो।
सुदूरपश्चिममा संक्रमितको संख्या चार हजार आठ सय चार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय ९७ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै डोटीका सात सय ८२, अछाममा सात सय १०, बाजुराका ६ सय १९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
कञ्चनपुरका पाँच सय ६७, डडेल्धुराका तीन सय नौ, बैतडीका दुई सय ९६, बझाङका दुई सय ७७ र दार्चुलाका ३९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका तीन हजार दुई सय ४८ जना डिस्चार्ज भएर घर फर्किएका छन् भने नौँ जनाको मृत्यु भईसकेको छ।