काठमाडौं, १९ साउन/नेपालले पहिलो चरणमा कोरोनाको सामना गरेको अवधि २०७६ माघदेखि २०७७ जेठ ३२ सम्म हो । असार १ देखि लकडाउन खुकुलो भएपछि कोरोना प्रतिरोधको दोस्रो चरण सुरु भएको छ ।
नेपालमा कोरोना संक्रमितको पहिलो केस ०७६ माघ ९ गते चीनबाट आएका एक विद्यार्थीबाट सुरुवात भयो । माघदेखि चैतसम्म सरकारले उच्चस्तरीय समिति गठनलगायतका काम गर्यो । नेपालमा कोरोनाको जोखिम नरहेको र नेपालीहरुको प्रतिरोध क्षमता विश्वकै उत्कृष्ट रहेको प्रचारमा सरकार लाग्यो ।
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी काठमाडौंकी १९ वर्षीय युवतीमा दोस्रो केस देखियो । त्यसको भोलिपल्ट चैत ११ देखि सरकारले देशैभरि लकडाउन सुरु गर्यो । र, विभिन्न चरणहरु पार गर्दै ०७७ जेठ ३२ सम्म लगातार लकडाउन जारी रह्यो ।
यसरी पहिलो केस देखिएको दिनदेखि करिब तीन महिनासम्म जारी रहेको कठोर लकडाउनको अवधिलाई नेपालमा कोरोना प्रतिरोधको पहिलो अवधि मान्न सकिन्छ ।
पहिलो चरणको पाठ
सरकारले पहिलो चरणमा देशव्यापी लकडाउनको घोषणा गर्दा देशभरिमा दुईजना मात्रै संक्रमित देखिएका थिए । दुईजनामा संक्रमण देखिएका बेला देशैभरि लकडाउन गर्नु सरकारको सही निर्णय थियो कि थिएन रु यसमाथि पर्याप्त समीक्षा र विश्लेषण हुन बाँकी छ ।
सरकारले बेलैमा देशैभरि लकडाउन गरेका कारण चैतदेखि असारसम्म कोरोना फैलन नपाएको विश्लेषण एकथरिले गर्दै आएका छन् । अर्कोथरिको तर्क के छ भने त्यति लामो लकडाउन नगरेको भए पनि हुन्थ्यो । बढीमा एक महिनामात्रै लकडाउन गरेर अर्थतन्त्र चलायमान हुने दिएको भए राम्रो हुन्थ्यो भन्ने मत पनि प्रकट हुने गरेको छ ।
पहिलो चरणको लकडाउनको सामना गर्ने क्रममा सरकारले उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समिति बनायो । जबकि प्रधानमन्त्रीकै नेतृत्वमा विपद व्यवस्थापन परिषद र गृहमन्त्रीको अध्यक्षता रहने कार्यकारी समितिले काम गर्नुपर्नेमा कानूनले नचिनेको संयन्त्र बनाइएको तर्क पनि विज्ञहरुले गरेका छन् ।