धनगढी, १९ साउन/कोरोना परीक्षण अब नयाँ मापदण्ड अनुसार हुने भएको छ । स्वास्थ्य निर्देशनालय डोटीले एक सूचना जारी गर्दै सो जानकारी दिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय कोरोना परीक्षण निर्देशिका अनुसार अबदेखि कोरोना परीक्षण नयाँ मापदण्ड अनुसार हुने सूचनामा उल्लेख गरिएको छ ।
अबदेखि विगतमा कोरोना देखिएको बिरामीको घरका कम्तिमा २ जना ब्यक्तिको परीक्षण हुने, ज्वरो, खोकी, स्वास फेर्न कठिनाई भएका र झाडापखाला लागेका सबै व्यक्तिहरुको नमुना स्वास्थ्य केन्द्र तथा अस्पतालबाट संकलन गरिने, कोभिड संक्रमितको सम्पर्कमा आएका सबै व्यक्तिहरुको कोरोना परीक्षण गरिने भएको छ ।
यस्तै, बिदेशबाट आउने सबै व्यक्तिहरु, ६० बर्ष माथिका दीर्घरोगी सबैको स्वाव संकलन गरी परीक्षणका लागि सेती अस्पताल कैलाली र डडेल्धुरा अस्पताल डडेल्धुरामा पठाउन निर्देशनालयले मातहतका स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ ।