धनगढी १८, साउन- धनगढीमा मोटरसाइकल दुर्घटनामा परी घाइते सुदूरपश्चिम प्रदेश सभा सदस्य अम्बिका कुमारी थापाको काठमाडौँमा उपचार भइरहेको छ । टाउकोमा चोटले गम्भीर भएकी थापाको काठमाण्डौ स्थित अन्नपूर्ण न्युरो अस्पताल बबरमहलमा उपचार भैरहेको छ ।
घाईते थापालाई माया मेट्रोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपाली सेनाको स्काई भ्यान हेलिकप्टरबाट काठमाण्डौ लगिएको सुदूरपश्चिम प्रदेशका नेपाली काँग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले जानकारी दिए । शनिवार धनगढी उप–महानगरपालिका वडा नम्बर ८ बुद्ध चोकमा मोटरसाइकल दुर्घटना हुँदा उनी घाइते भएकी हुन्।
सांसद थापा सवार से ३ प ७४३७ नम्बरको मोटरसाइकललाई अर्को मोटरसाइकले पछाडि बाट ठक्कर दिएको खुल्नमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए।
पछाडि बाट ठक्कर दिँदा उनी सवार मोटरसाइकल बाटोमा खसेको थियो। यस अघि शनिवार धनगढीको माया मेट्रो हस्पिटलमा उपचार सम्भव नहुने देखिएपछि उनलाई काठमाडौँ लग्ने तयारी थालिएको थियो। उनलाई शनिवार राती १० बजे नेपाली सेनाको स्काई ट्रक मार्फत काठमाडौँ लगिएको हो।