धनगढी १७ साउन/ सेती नदीमा बगेर दुई जना बेपत्ता भएका छन् । डडेल्धुरा अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मी आज दिउँसो १२ बजे सेती नदीमा बेपत्ता भएका हुन् ।
डडेल्धुरा परशुरामका हरी जोशी र बझाङ स्थायी घर भएका स्वास्थ्य सहायक बिनय सिंह बेपत्ता भएका हुन् ।
शनिबार बिदाको दिन पारेर डडेल्धुराबाट तीनवटा मोटरसाईकलमा ६ जना डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमा पुगेको र नुहाउने क्रममा ३ जना बगेका थिए । एक जनालाई स्थानीयले बेहोस अवस्थामा उद्धार गरे पनि अन्य २ जना बेपत्ता भएको शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशीले जानकारी दिएका छन् । अहिले स्थानीय प्रहरी तथा स्थानीयहरुको सहयोगमा बेपत्ताको खोजी भईरहेको छ ।