धनगढी १५ साउन- कैलालीको गौरीगंगा नगरपालिका–४, राजीपुरका २२ वर्षीय गणेश शाहीको क्वारेन्टिनमा बसेका बेला सर्पले डस्दा मृत्यु भएको छ । गत असार १३ गते सर्पले डसेपछि उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगन्जमा उपचार गराइरहेका उनको आज मृत्यु भएको हो ।
भारतको पुनाबाट आएका शाहीलाई नगरपालिकाले राजीपुरमा रहेको सिद्धार्थ विद्या निकेतनमा बनाएको क्वारेन्टिनमा राखेको थियो । क्वारेन्टिनमा बसेका बेला गत असार १३ गते रातिको समयमा उनलाई सर्पले डसेको थियो । सर्पले डसेपछि उनलाई राति नै सेती प्रादेशिक अस्पताल धनगढी पु¥याइएको थियो । धनगढीमा उपचार हुन नसकेपछि उनलाई नेपालगन्ज रेफर गरिएको थियो । नेपालगन्जमा एक महिनादेखि उपचाररत उनको बिहीबार मृत्यु भएको मृतकका दाजु रामबहादुर शाहीले बताए ।
‘भाइलाई सर्पले डस्ने वित्तिकै जनप्रतिनिधिले एम्बुलेन्सको व्यवस्था गरेनन्, जसले गर्दा भाइको स्वास्थ्य नाजुक भएको हो,’ उनले भने,‘सुरुदेखि नै नगरपालिकाको लापर्वाही भयो ।’ सर्पले डसेको ३ घण्टापछि मात्रै एम्बुलेन्स आएको र एम्बुलेनसमा धनगढी लैजाँदा भेन्टिलेटर नपाएपछि पुनः नेपालगन्ज लग्दा समय धेरै गुज्रिएको बताउँदै उनले भने,‘भाइको मृत्युका कारण सुरुमै जनप्रतिनिधले गरेको लापरवाही नै हो ।’ भाइको उपचारका लागि ऋण काढेर एक महिना औषधि गर्दा पनि नसोधेको नगरपालिकाले अहिले मृत्युपछि भने सबै पैसा दिन्छौँ भनेर फोन गरिरहेका छन् । उनले भने,‘मेरो भाइको मृत्यु भइसक्यो अहिले आएर उपचारको खर्च व्यहोर्छौँ भन्दैछन् ।’