तेज बोहरा
धनगढी, ९ साउन- सुदूरपश्चिमका वन जङ्गलमा पछिल्लो समय काठ तस्करी बढेको छ । तस्करले साल, खयर, साज, सल्लो लगायत जातका रुख अवैध रुपमा कटान गरी तस्करी गर्दे आएका छन ।
कैलाली, कञ्चनपुर लगायत पहाडी ७ जिल्लामा काठ बर्सेनि काठ तस्करी बढ्दै गएको छ । काठ तस्करी मौलाउदै गएपछि वन कार्यालयहरु लाई नियन्त्रण गर्न समस्या भएको छ ।
तस्करले काठ माटो, बालुवा तथा स्याउलाले छोपेर, अवैध बाटोबाट लुकाइछिपाइ दिउँसै रुख काटेर तस्करी गर्ने गरेका छन् । पछिल्लो एक बर्षको तथ्याङ्क हेर्ने हो भने सुदूरपश्चिम प्रदेशमा ठुलो परिमाणमा काठ तस्करी भएको देखिन्छ ।
प्रदेश वन निर्देशनालयको तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा डिभिजन वन कार्यालय कैलालीमा मात्रै काठ तस्करीका ३ सय २७ मुद्दा दर्ता भएका छन् । तस्करीमा संलग्न ७ सय ९६ जनालाई मुद्दा चलाएको उल्लेख छ । ११ करोड ४७ लाख १९ हजार दुई सय रुपैयाँ बिगो भराएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुरामा काठ तस्करीका १३ मुद्धा दर्ता भएका छन् । जसमा संलग्न २० जनालाई मुद्धा चलाएर कारबाही गरीएको छ । उनीहरुबाट १ लाख ३३ हजार दुई सय ६८ रुपयाँ विगो भराएको छ । यस्तै डिभिजन वन कार्यालय डोटीमा तस्करीका ९ मुद्धा दर्ता भएका छन् भने १३ जना कारबाहीमा परेका छन् । उनिहरुबाट २ लाख ४० हजार १ सय ४ रुपयाँ विगो भराएको छ ।
यस्तै डिभिजन वन कार्यालय बझाङ्गमा दर्ता भएका २४ मुद्धामा ४४ जना कारबाहीमा परेका छन् । तस्करीमा संलग्नबाट २ लाख ७७ हजार विगो भराएको छ । डिभिजन वन कार्यालय दार्चुलामा दर्ता भएका ५ मुद्धामा संलग्न ९ जना कारबाहीमा परेका छन् । उनिहरुबाट ७० हजार ५ सय ४० रुपयाँ विगो भराएको छ ।
डिभिजन वन कार्यालय अछाममा दर्ता भएका २ मुद्धामा संलग्न २ जना कारबाहीमा परेका छन् । उनिहरुबाट १ लाख ४८ हजार विगो भराएको छ । डिभिजन वन कार्यालय बाजुरामा दर्ता भएका ५ मुद्धामा १७ जना कारबाहीमा परेका छन् । उनिहरुबाट १ लाख ८ हजार ४ सय विगो भराएको छ । यस्तै डिभिजन वन कार्यालय बैतडीमा दर्ता भएका ३ मुद्धामा ४ जना कारबाहीमा परेका छन् । उनिहरुबाट ४५ हजार ३ सय आठ रुपयाँ विगो भराएको छ ।
प्रदेश वन निर्देशक हेमराज बिष्टले लकडाउनको समयमा काठ तस्करी बढेको बताए । उनले लकडाउनको समयमा बाटोहरु बन्द गरेर काठ् तस्करी भएको स्विकार गरे । सरकारले काठ् बन्द गरेको कारणलेपनि अवैध तस्करी बढेको हो उनले भने–‘बजारमा काठ्को अभाव छ आवश्यकता अनुसार काठ् पुर्ति हुन नसकेको कारणले पनि तस्करी बढेको हो ।’ प्रदेशभर आर्थिक बर्ष २०७६÷०७७ मा काठ् तस्करीमा संलग्नहरुलाई १६ सय १० जनालाई वन ऐन अनुसार कारबाही गरिएको बिष्टले जानकारी दिए ।
लकडाउनमा काठ तस्करी बढ्यो
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशमा चैत १० गते जारी गरेको लकडाउन साउन ५ गते अन्त्य गरेको छ । उक्त समयमा कैलाली र कञ्चनपुरका सामुदायिक तथा राष्ट्रिय वनमा काठको चोरी तस्करी बढेको देखीएको छ ।
वन डिभिजन कार्यालय र सामुदायिक वनहरूको निष्क्रियताको मौका छोप्दै अवैध रुपमा काठ कटानी तथा तस्करी बढेको हो । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थीले लकडाउनको समयमा वन क्षेत्रमा काठ तस्करी बृद्धि भएको बताए ।
‘लकडाउन पछि कञ्चनपुरका राष्ट्रिय वनबाट तस्करी गरिएको एक सय ५० क्यूफिट काठ बरामद गरिएको छ ।’ उनले भने, ‘विभिन्न सामुदायिक वनहरूबाट समेत ५० देखि ६० क्यूफिट काठ बरामद गरिएको छ ।’
कैलालीमा डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गत पर्ने विभिन्न वनहरूबाट पनि अवैध रुपमा काठ कटानी र तस्करी पाइएको छ । पहलमानपुर डिभिजन वन कार्यालय अन्तर्गतका वनहरूबाट लकडाउनपछि ६ सय क्यूफिटभन्दा बढी काठ बरामद गरिएको छ ।
लकडाउनमा स्थानीयबासी सहित वनका कर्मचारीहरूको आवतजावत रोकिएकोले काठ तस्करी बढेको वनकर्मीहरूको भनाइ छ । अन्य समयमा पनि चोरी तस्करी नियन्त्रण हुन नसकेका बेला लकडाउन अवधिमा भने झनै बढेको देखिएको छ ।
विभिन्न ठाउँबाट तस्करी हुन लागेको काठ पनि ठुलो परिमाणमा बरामद गरेको छ । वन कार्यालयहरूले नियमित रुपमा निगरानी नसकेकै कारण काठ् तस्करी बढ्ेको हो ।