धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक जना जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ।
महोत्तरी घर भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिनु भयो। उहाँका अनुसार संक्रमित उपचारका लागि अस्पताल आउँदा नै सिकिस्त अवस्थामा थिए। उनलाई सुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो।
उनमा कोरोना पोजिटिभ देखिए पछि मंगलबार दिउँसो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो। मृतक रुघाखोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका थिए। उनी सोमबार मात्रै अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले जानकारी दिनु भयो।
यस अघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सप्तरीका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो। नेपालमा अहिलेसम्म कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ, भने १७ हजार ९ सय ९४ जना कोरोनाबाट संक्रमित भएका छन्।