साउन १
सुर्खेत ।
कर्णाली प्रदेशका एक डाक्टरले छिमेकी किसानको डेढ लाख ऋण तिरि दिएका छन् । प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. नवराज केसीले छिमेकी किसानको डेढ लाख ऋण तिरिदिएका हुन् ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीका बेला फ्रन्टलाइनमा रहेर काम गरेका डा. केसीलाई प्रदेश सरकारले प्रोत्साहन भत्ता उपलब्ध गराएको थियो । छिमेकी किसानले भैंसी किन्दा लागेको ऋण तिर्न नसकेर समस्यामा परेको थाहा पाएपछि सोही रकमले किसानको ऋण तिरिदिएको डा. केसीले बताए ।
वीरेन्द्रनगर–१, सुर्खेत निवासी डा. केसी भन्छन्, ‘कर्णाली दुर्गम वा सुगम होइन, मेरो घर हो । सरकारले प्रात्साहानको रुपमा दिएको भत्ता आफ्नालागि खर्च गर्नुभन्दा समस्यामा परेका विपन्न किसानका लागि खर्च गर्न उपयुक्त ठानेँ ।’
किसान कृष्णबहादुर खत्रीले दूध बेचेर आफ्नो जीवनको गुजरा चलाउनको लागि ७० हजारमा दुई भैँसी किनेका थिए । त्यो ऋण तिर्ने नसकेर ७० हजारबाट ब्याज बढेर २ लाख पुगेको थियो । दुई लाख मध्य किसान कृष्णबहादुरले एक भैँसी बेचेर ५० हजार ऋण त तिरे तर १ लाख ५० हजार तिर्न सकेका थिएनन् ।
तिर्न बाकि रहेको कृष्णबहादुरको ऋण १ लाख ५० हजार डाक्टर नवराजन के.सी.ले तिरिदिएका हुन् । आफुले तिर्न नसकेको ऋण डाक्टरले तिरिदिनएकोमा आफुलाई भगवान भेटिएको जस्तो लागेको कृष्णबहादुरकी श्रीमती मनिसरा खत्रीले बताईन् ।