धनगढी,२७ असोज / सुदूरपश्चिम प्रदेश सरकार चालु आर्थिक वर्षको बजेट पारित गराउन सत्ता पक्षभित्रको असन्तुष्टि व्यवस्थापनसँगै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सहमतिमा ल्याउने कसरतमा जुटेको छ। कांग्रेसले बजेटमाथिको छलफल बहिष्कार गर्ने निर्णय गरेपछि सरकारलाई बजेट पारित गराउन थप चुनौती थपिएको हो।
मंगलबार बिहान ९ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो १ बजेका लागि सारिएको थियो। तर, निर्धारित समयमा पनि बैठक सुरु हुन नसकेपछि साँझ ५ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।
सचिवालयले बैठक स्थगित भएको सूचना सांसदहरूलाई पठाउँदै साँझ ५ बजे पुनः बैठक बस्ने जानकारी गराएको छ। यता, कांग्रेस संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री कमलबहादुर शाहले विवादित बजेटमाथिको छलफलमा सहभागी नहुने अडान लिएका छन्। बजेट उपयुक्त नभएको र सरकारले प्रतिपक्षीसँग आवश्यक समन्वय नगरेको भन्दै कांग्रेसले छलफल बहिष्कार गर्ने निर्णय गरेको हो।
‘कांग्रेसलाई पनि सहमतिमा ल्याएर बजेट पारित गर्ने सरकारको तयारी छ,’ नेकपाका एक सांसदले भने। बजेटका विषयमा सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० भित्रै असन्तुष्टि चुलिएपछि मंगलबार बिहान संसदीय दलको बैठक बसेको थियो। बैठकमा विवाद समाधान गरी साझा धारणा बनाउने प्रयास गरिए पनि प्रतिपक्षीको बहिष्कारले सरकारमाथि दबाब बढाएको छ।
यसअघि नेकपाले बजेटमा देखिएका विवादित विषय छानबिन गर्न संसदीय समिति गठन गर्ने र कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति गरेको थियो। विवादित विषयलाई छानबिनमार्फत टुंग्याउँदै तत्कालका लागि बजेट पारित गर्ने सत्तारूढ दलको रणनीति छ।
सरकारले सहमति जुटाउन मंगलबार अपराह्न ४ बजे सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठकबाट निकास निकालेर साँझ ५ बजे प्रदेशसभा बैठकमार्फत बजेट पारित गर्ने सरकारको तयारी छ। तर, कांग्रेस आफ्नो अडानबाट पछि नहटेमा बजेट पारित गर्ने सरकारको प्रयास थप जटिल बन्न सक्ने देखिएको छ।