काठमाडौं, : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली र संसदीय दलका उपनेता सुबासचन्द्र नेम्वाङसँगको भेटवार्ताबारे ब्रिफिङ गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा देउवाले नेकपाका नेता नेम्वाङले संवैधानिक नियुक्तिका विषयमा सहयोग मागेको बताएका हुन्। देउवाले गत बुधबार प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेट भएको समेत जानकारी गराएका छन्।
‘बालुवाटारमा ओलीसँग भेटेको हुँ। संवैधानिक नियुक्तिका विषयमा छलफल भयो। तर, संसद अधिवेशन अन्त्य गर्ने र नेकपाभित्रको संघर्षका विषयमा छलफल भएन,’ देउवाको भनाइ उदृत गर्दै केन्द्रीय सदस्य अतहर कमल मसुलमानले काठमाडौंप्रेससँग भने।
देउवाले प्रधानमन्त्री ओलीले संवैधानिक आयोगको नियुक्तिबारे सरकारले पेल्ने काम गरेको बताएका थिए। नेम्बाङसँगको भेटवार्ताबारे चाहिँ देउवाले केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजाललाई ब्रिफ गर्न लगाएका थिए।
‘नेम्वाङजीलाई मिनेन्द्रजीले लिएर जानुभएको रहेछ। त्यसैले सभापतिले मिनेन्द्रजीलाई नै ब्रिफ गर्न लगाउनुभयो,’ केन्द्रीय सदस्य गोविन्द भट्टराईले भने।
देउवा–नेम्वाङको भेटवार्ताबारे बिफ्र गर्दै रिजालले संवैधानिक आयोगमा गर्नुपर्ने नियुक्ति र एमसीसी परियोजनाबारे बाहेक अन्य विषयमा छलफल नभएको बताएका थिए। नेम्वाङले आयोगमा गर्नुपर्ने नियुक्तिमा सहयोग मागेपछि देउवाले सरकारले प्रतिपक्षी नै छैन जस्तो व्यवहार गरेको भन्दै असन्तुष्टि जनाएको रिजालले ब्रिफ गर्दै बताए।
‘प्रतिपक्षी नै छैन जस्तो गर्नुभो। नियुक्ति प्रक्रिया एकलौटी गर्न अध्ययादेश नै ल्याउनुभयो। अस्ती पनि ओलीजीले यही विषयमा छलफल गर्न बोलाउनुभयो। आज तपाईं आउनुभयो। प्रतिपक्षी त चाहिने रैछ त, अनि किन पेलेकोरु’ नेम्वाङसँगको भेटवार्तामा देउवाको भनाइ उदृत गर्दै रिजालले बैठकमा ब्रिफ गरेका थिए।
यस्तै, संसद अधिवेशन एक चौथाइ सांसदले आह्वान गर्न सक्ने व्यवस्था, एमसीसी परियोजना र कांग्रेसको तयारीबारे समेत नेम्वाङले देउवासँग जिज्ञासा राखेका थिए। ‘एमसीसीबारे छलफल गराउन संसद अधिवेशन बोलाउने तयारीमा हुनुहुन्छ भन्ने सुनेको छु, यो सत्य हो तरु,’ नेम्वाङले देउवालाई सोधेका थिए।
जवाफमा देउवाले एमसीसी कांग्रेसले छलफल गराउने र पास गराउने विषय नभएको बताएको रिजालले कांग्रेस बैठकमा जानकारी गराएका थिए।
बैठकमा कांग्रेसका नेताहरुले नेकपाभित्रको अन्तरसंघर्षबारे छलफल गर्नुपर्ने बताएका थिए। तर, सभापति देउवाले नेकपाको आन्तरिक झगडाबारेमा छलफल गर्न आवश्यक नरहेको बताएको मुसलमानले बताए।
‘सभापतिले अहिले यो विषयमा छलफल गर्न आवश्यक छैन। सत्ताका कुरा पनि भएका छैनन्। छलफल गर्न आवश्यक परे केन्द्रीय समिति बैठक बोलाउँछु भन्नुभयो,’ मुसलमानले भने।