जीवन बोहरा
जोरायल १३ असार- रोजगार शिलशिलामा दक्षिण कोरियामा रहेका युवाहरुले गठन गरेको सुदुरपश्चिम समाज दक्षिण कोरियाले ब्रेन ट्युमर बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
ब्रेन ट्युमर रोगबाट ग्रसित डोटीको जोरायल गाउँ पालिका ४ खैगाड निवासी ४५ बर्षीय लछी पालीको आर्थिक अभावका कारण उपचारमा समस्या आएपछि आर्थिक सहयोग गरेको हो ।
शनिबार कोरियाबाट संकलन गरिएको एक लाख ४४, हजार ८ रकम जोरायल डोटीका सुदूरपत्र अनलाइनका सम्बाददाता जिवन बोहरा मार्फत विरामीको घर मैं गएर बिरामीको श्रीमतीलाई हस्तान्तरण गरिएको हो ।
कोरिया स्थित सुदुरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ताहरु पूर्वकार्य समिति सदस्य पुष्प ओझा, वर्तमान सचिव योगेश बोहरा, कैलाली संयोजक पुस्कर जोशी, वरिष्ट उपाध्यक्ष दिल बहादुर मडै लगायतले ‘लछी बचाऔं अभियान’ सञ्चालन गरी आर्थिक रकम जुटाएका थिए ।
दैनिक ज्याला मजदुरी गर्ने लछी पाली एक्कासी ट्युमर फुटेर बेहोस भै उनलाई डोटीबाट एम्बुलेन्समा राखेर गत जेठ ६ गते काठमाडौंको वीर अस्पताल पुर्याइएर अप्रेसन गरिएको थियो । १० दिन सम्म बेहोस अवस्थामा रहेका पालीको एघारौं दिनमा होस खुलेको बिरामीका ज्वाँई तिलक रावलले बताए। बिरामीको अवस्था जटिल भए पनि आर्थिक अभाव लगायत कोरोना समस्या र लकडाउनले गर्दा उहालाई अप्रेशन पश्चात घरमै स्थानान्तरण गरिएको थियो ।
यसैगरी उक्त अभियानमा ऐक्यवद्वता जनाउँदै मलेसियामा रहेका सामाजिक अभियन्ताहरु खडक खड्का, नरेन्द्र मडै, गोकर्ण मडै, अम्मर पाली, भोज मडै, लोकेन्द्र पाली, दिलिप कार्की, राजन बिष्ट र ठगी सिह बोहरा लगायतले संयुक्त रुपमा आर्थिक संकलन गरेर दुइ लाख तीन हजार सात सय २५ र जापान बाट सुरेन्द्र मालीले १० हजार पाँच सय सात यस अघिनै विरामीका दाजु देव सिह पालीको नाममा रेमिट्यान्स मार्फत पठाई सकिएको बताईएको छ ।
बिरामीको पारिवारिक अवस्था अत्यन्त नाजुक भएको र उपचारमा आर्थिक समस्या आएपछि हामीले यो अभियान चलाएको सुदुरपश्चिम समाज दक्षिण कोरियाका अध्यक्ष वीरबहादुर पालले बताए । अभियानमा सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दै अध्यक्ष पालले सुदुरपश्चिम समाज दक्षिण कोरियाले आपत बिपतमा परेका दीन दुःखी र जटिल अवस्थाका बिरामीहरुलाई बिगतदेखि नै सहयोगका हातहरु बढाउँदै आएको स्मरण गर्दै बिरामीको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरे ।