धनगढी , २८ असोज / सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको बजेट पारित भए पनि त्यसको अध्ययन गर्न संसदीय समिति गठन गरिने भएको छ ।
सत्तारुढ दलभित्रबाट बजेटको विरोध भए पनि पूरक बजेट ल्याउने गरी तत्काल बजेट पारित गर्ने सहमति भएको थियो । सोही अनुसार पूरक बजेट ल्याउनका लागि अध्ययन गर्न संसदीय समिति गठन गर्न लागिएको हो ।
सभामुख भीम भण्डारीले प्रदेश सभामा प्रस्तुत भएको बजेटको सन्दर्भमा अध्ययन गरी यती कार्तिक २० गते भित्र प्रतिवेदन पेस गर्ने गरी दलीय प्रतिनिधिका आधारमा ७ सदस्यीय संसदीय समिति गठन गरिने बताए । उनले उक्त समितिले पेस गरेको प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइने बताए ।
आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिस्कारका बिच मंगलबार प्रदेश सभाबाट पारित भइसकेको छ ।
बजेट पारित भए पनि स्वयम अर्थमन्त्रीले नै बजेटमा असन्तुष्टि जनाउँदै पूरक बजेट ल्याउन आवश्यक रहेको बताएका थिए ।