सुर्खेत,
असार ११
कर्णाली प्रदेश अस्पतालका आठौं तहका चिकित्सकहरुले प्रदेश सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता नपाएको भन्दै आन्दोलन गरेका छन् । विहिबार चिकित्सकहरुले प्रोत्साहन भत्ता पाउनुपर्ने माग गर्दै आकस्मिक सेवा बाहेकको काम नगर्ने घोषणा गर्दै आन्दोलन गरेका छन् ।
गत पुस ८ गते आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषदले चिकित्सकलाई तीन र जिल्लालाई चार तहमा विभाजन गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
प्रदेश सरकारले जिल्ला र तहगत रुपमा ५० देखि १ सय ३५ प्रतिशतसम्म प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । सुर्खेतमा कार्यरत आठौं तहका चिकित्सकलाई आधारभूत तलबको ५० प्रतिशत र नवौंदेखि एघारौं तहका विशेषज्ञ चिकित्सकलाई ७५ प्रतिशत भत्ता दिने निर्णय गरिएको थियो ।
कर्णाली प्रदेश अस्पतालमा अहिले ५६ जना चिकित्सक कार्यरत रहेका छन । तीमध्ये आधाभन्दा बढी आठौं तहका मेडिकल अधिकृत हुन । नियमित सेवाका साथै कोरोना विशेष अस्पतालमा पनि आठौं तहका चिकित्सक अग्रपंक्तिमा काम गरिरहेको गरिरहेका छन् ।
चिकित्सकले मंसिरदेखि लागू हुने गरी भएको निर्णय अनुसार अन्य चिकित्सकले भत्ता पाए पनि आठौं तहका मेडिकल अधिकृतले भने नपाएको भन्दै आन्दोलन गरेका हुन । उनीहरुले निर्णय तत्काल कार्यान्वयन नभएसम्म सेवामा नफर्कने अडान लिएका छन् ।
यस्तो थियो निर्णय
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा प्रदेश मन्त्रिपरिषदले चिकित्सकलाई तीन र जिल्लालाई चार तहमा विभाजन गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।
निर्णअनुसार सुर्खेतका आठौं तहका चिकित्सकलाई ५० प्रतिशत र नवौंरदसौं तथा एघारौं तहकालार्ई ७५ प्रतिशत भत्ता दिने उल्लेख छ । जाजरकोट, दैलेख, रुकुम पश्चिम र सल्यानका आठौं तहलाई ६० प्रतिशत, नवौंरदसौं तहलाई ८० प्रतिशत र एघारौं तहलाई ९० प्रतिशत, कालीकोट र जुम्लाका आठौं तहलाई ७५ प्रतिशत, नवौंरदसौं तहलाई ९० प्रतिशत र एघारौं तहलाई सय प्रतिशत तथा हुम्ला, डोल्पा र मुगुका आठौं तहलाई सय प्रतिशत, नवौंरदसौं तहलाई १ सय २५ प्रतिशत र एघारौं तहलाई १ सय ३५ प्रतिशत भत्ता दिने निर्णय गरिएको छ ।