धनगढी– कैलालीमा क्वारेन्टिनमा बसेकी एक महिलाले शिशु जन्माएकी छन्। गौरीगंगा नगरपालिका ६, कठौतीस्थित कैलाली भिजन बोर्डिङ स्कुलको क्वारेन्टिनमा बसेकी २० वर्षीया महिलाले मसुरियास्थित स्वास्थ्य चौकीमा बिहीबार शिशु जन्माएकी हुन्।
गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा सदस्य टेकबहादुर कुँवरका अनुसार महिलालाई व्यथा लागेपछि वनबेहडास्थित सशस्त्र प्रहरी बलको एम्बुलेन्सबाट बिहान ५ बजे स्वास्थ्य चौकी लगिएको थियो।
नवजात शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको चिकित्सकलाई उद्धृत गर्दै महिलाका पतिले जनाएका छन्। शिशुको तौल दुई केजी छ। भारतबाट पतिसहित फर्किएकी ती महिला १३ दिनअघि क्वारेन्टिनमा बसेकी हुन्।