धनगढी, ७ असार- कोरोनाको उच्च जोखिममा रहेको भारतबाट भारतीय नम्बर प्लेटका सवारी साधन ट्रकका ट्रकमा दैनिक फलफुल तथा तरकारी नेपाल भित्रिरहेको छ । असारको शुरुवातसंगै लकडाउन खुकुलो पार्ने निर्णयसंगै भारतबाट अनिवार्य खाद्यान्न बस्तु आयात गर्न दिने सरकारी निर्णय भएपनि भारतीय ट्रकमा धमाधम तरकारी र फलफुल आईरहेको छ ।
महेन्द्रनगरका तरकारी व्यवसायी शिवराज गुप्ता, बिरेन्द्र गुप्ता, घटाल फुट सेन्टर, जगदुर्गो फुट सेन्टर लगायतका तरकारी पसलमा धमाधम भारतबाट तरकारी आयात भईरहेको छ । भारतीय नम्बर प्लेटका सवारी साधनबाट दैनिक धमाधम भारतबाट तरकारी आयात भएपछि स्थानीय बिरोधमा उत्रिएका छन् । नेपाली किसानका खेतका तरकारी कुहिरहेका बेला भारतबाट जोखिम मोलेर भारतीय तरकारी नेपाल भित्रिन थालेपछि स्थानीय एव उपभोक्ता आक्रोशित भएका छन् ।
भारतबाट धमाधम तरकारी महेन्द्रनगर भित्रिन थालेपछि स्थानीय केही व्यवसायी बिरोधम उत्रिएका हुन् । व्यवसायी समेत रहेका राष्ट्रिय उपभोक्ता हित मञ्चका अध्यक्ष बिरेन्द्र बहादुर चन्दले मिलोमतोम भारतीय ट्रकमा कोरोना भित्र्राउने काम भईरहेको आरोप लगाए ।
तरकारीवालाहरुले भने प्रहरीसंग सोधेरै भारतबाट तरकारी ल्याएको बताउदै केही व्यक्तिले अनावश्यक दुख दिईरहेको गुनासो पोखेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमर बहादुर थापाले अतिआवयक खाद्य समान ल्याउन दिने भनेपनि भारतीय ट्रकमा ओसार्ने नहुने बताए । उक्त ट्रकमाथि छानबिन गरिने उनले बताए ।