-यी लिंग लिउ
कोभिड– १९ महामारीले व्यक्तिगत सम्बन्धलाई अभूतपूर्व रुपमा पुनर्व्यवस्थित गरेको छ। लकडाउनका कारण परिवारका सबै एउटै छानोमुनि बस्न बाध्य छन्। सँगसँगै लामो समय बिताउन थालेपछि सम्बन्धको तनाव पनि सतहमा देखिएको छ।
अरु बेला टाढा रहने परिवारका सदस्य हमेसा सँगै हुँदा सहकर्मी र साथीहरु टाढा भएका छन्।
कोभिड–१९ बाट बच्नका लागि घरको चौघेरोमा सीमित भएकाहरुको सम्बन्धमा आर्थिक दबाब पनि परेको छ। परिणाम कतिपय सम्बन्धको धागो तन्किएको छ। तनाव बढेको छ।
फेरिएको सम्बन्ध
नयाँ कोरोना भाइरसले पहिलो आक्रमण चीन र हङकङमा गरेको थियो। त्यसैले सम्बन्धमा आएको परिवर्तन बुझ्न चीन र हङकङको उदाहरण हेर्नुपर्ने हुन्छ।
चीनको सांक्चीस्थित सियान सहरमा पारपाचुके ९डिभोर्स० को बाढी नै आएको छ। सामाजिक सञ्जालमा सियान डिभोर्स ह्यासट्यागबाट करिब सवा तीन करोड पोस्ट भएका छन्।
कोरोनाको उद्गमस्थल वुहान सहरमा पनि दाम्पत्य जीवन खतरामा परेका थुप्रै खबर आइरहेका छन्।
उसो त चीनमा सन् २००३ देखि नै डिभोर्स गर्नेको संख्या बढ्दो छ। तर, कोरोना महामारीका बेला डिभोर्स चाहनेको संख्या अति नै बढेपछि सोसल मिडिया प्लेटफर्म विच्याटबाटै डिभोर्सको निवेदन दिन सकिने व्यवस्था मिलाइयो।
लकडाउनका बेला घरमै लामो समय बिताउन बाध्य दम्पतीबीच घरेलु हिंसा र डिभोर्सका घटनामा अत्यधिक वृद्धि भएको त यो समस्या समाधानका लागि हेल्पलाइनमा आउने फोनको संख्या अत्यधिक बढेबाट प्रस्ट हुन्छ।
हङकङमा घरेलु हिंसाबाट जोगिन महिलाहरु आफ्ना सन्तानसँगै सेल्टर होममा शरण लिइरहेका छन्।
हङकङको यस्तै एउटा सेल्टर होममा आश्रय लिइरहेकी पिंग पिंगका अनुसार पहिल्यैदेखि सामान्य कुटपिट गर्ने उनका पति लकडाउनपछि दिनभर पनि घरमै रहन थाले। त्यसपछि छिनछिनमै झगडा हुन थाल्यो । घरको सफाइदेखि खाना बनाउने, झगडाको विषय जे पनि हुन सक्थ्यो। हिंसा असह्य हुँदै जाँदा सेल्टर होम पुगेकी उनी अब डिभोर्स गर्ने तयारीमा छन्।
हङकङको स्वयमसेवी संस्था हार्मोनी हाउसकी सुजाना ल्याम भन्छिन्, ‘हुन त हङकङमा पूर्ण लकडाउन भएन । तर, हिंसाका घटनाका नभएका परिवारमा पनि बेग्लै खालको तनाव देखियो। घरको सरसफाइदेखि शारीरिक दूरी कसरी पालना गर्ने जस्तो विषयमा समेत घरघरमा तनाव छ।’
हङकङकी सामाजिक मनोचिकित्सक शर्मिन स्राफ भन्छिन्, ‘परिवारमा ससाना कुरामा झगडा भइरहेको छ। बच्चालाई बाहिर खेल्न पठाउने कि नपठाउने जस्ता विषयले तनाव बढाइदिएको देखिन्छ। लकडाउनले सम्बन्धको कडा परीक्षा लिएको छ।’
लकडाउनका कारण घरभित्रको कामकाज बढेको छ। परिवारका सबै घरभित्रै छन्। बालबालिकाको विद्यालय बन्द हुँदा उनीहरुलाई घरमै पढाउनुपर्ने चुनौती छ। बढेको कामको अधिकांश बोझ महिलामाथि परेको छ।
चीनमा महिलाहरु घरेलु कामकाजमा सामान्य बेलाभन्दा अढाइ गुणा बढी समय दिन बाध्य छन्। जानकारहरुका अनुसार कोभिड– १९ का कारण रोजगारी गुम्नुको दुश्प्रभाव महिलाले बढी व्यहोरिरहेका छन्। एकातिर उनीहरुको जागिर गएको छ, अर्कोतिर घरमा कामको बोझ थपिएको छ।
धेरै महिला काम गर्ने होटेल, रेस्टुरेन्ट, एयरलाइन्स वा टुरिज्ममा कोभिड– १९ को प्रभाव धेरै छ।
साङहाईकी सुसी गाओ लकडाउनअघिदेखि नै नयाँ कामको खोजीमा थिइन्। अनलाइन रिटेल सेक्टरमा काम गर्ने उनी अहिले अर्थव्यवस्थामा बन्दाबन्दीपछि घरमै रहन बाध्य छन्। दुई वर्षकी छोरी रेखदेखको जिम्मेवारी पनि उनीमाथि नै छ।
उनी भन्छिन्, ‘मेरा चिनजानका जति पनि परिवार छन्, तिनमा आर्थिक बोझ पुरुषमाथि बढी छ भने घरको कामकाजको बोझ महिलाले बोक्नुपरेको छ।’

डिजिटल नेटवर्क
सामान्यतया पारिवारिक सम्बन्धमा आएको तनावबाट बच्न मानिसहरु साथी र सहकर्मीको सहारा खेज्छन्। तर, सोसल डिस्टेन्सिङको नियमका कारण यो सपोर्ट सिस्टम पनि टाढा भएको छ।
मनोचिकित्सक स्राफ भन्छिन्, ‘भेटघाट बन्द भएपछि सोसल मिडिया, भिडियो कल, म्यासेजमाथिको निर्भरता बढेको छ।’ तर यो संसारमा धेरै त्यस्ता मानिस पनि छन् जोसँग यो प्रविधिको सहारा छैन।
हङकङको चाइनिज युनिभर्सिटीकी मनोवैज्ञानिक फेनी च्युङ प्राविधिक संसाधनको उपलब्धतामा ठूलो असमानता रहेको बताउँछिन्।
उता युवा पुस्ता यही डिजिटल सपोर्ट सिस्टमको सहारामा छ। तर, तत्कालका लागि भर्चुअल संसारले राहत दिए पनि यो आभासी दुनियाँमा धेरै समय बिताउँदा युवा पुस्ताले एक्लो पनि महसुस गर्न थाल्नेछ।
कोरोनाले अघि सारेको नयाँ दुनियाँ
उसो त माहमारीले जीवनमा कैयन् नयाँ चुनौती सामुन्ने ल्याएको छ। तर, धेरै मानिसले यो अप्ठ्यारो अवधिमा सम्बन्धको पुनः समीक्षा पनि गरेका छन्।
मनोचिकित्सक स्राफ भन्छिन्, ‘कतिपयले पुराना सम्बन्धलाई नयाँ तरिकाले ब्युँत्याउने प्रयास गरेको पनि मैले देखेकी छु। अरु मानिससँग मात्र होइन, आफ्नै जीवनमा पनि उनीहरुले थुप्रै परिवर्तन ल्याएका छन्।’
चीनकी सुसी गाओ भन्छिन्, ‘यो महामारीका कारण मेरा श्रीमान्, छोरी र छोरा सँगसँगै समय बिताइरहेका छन्। आपसी संवाद निकै बढेको छ। मैले छोरीसँग खेल्न धेरै समय पाएकी छु। यो संकटका कारण एउटा परिवारका रुपमा हामी धेरै नजिकिएका छौं।’
भलै वुहानमा डिभोर्सका घटना धेरै बढेका होउन्। तर, विवाहका लागि निवेदन दिनेको संख्या पनि बढेको छ। गत जनवरीदेखि अप्रिलसम्म वुहानमा विवाहका लागि निवेदन दिनेको संख्या ३०० प्रतिशतले बढेको छ।

महामारीको मनोवैज्ञानिक प्रभाव
जानकारहरुका अनुसार महामारीपछि अचानक मनोचिकित्सकको आवश्यकता बढेको छ। सन् २००३ मा सार्सको महामारी समाप्त भएपछिको लामो समयसम्म पनि मानिसहरु तनावग्रस्त थिए।
तर, यो महामारीबाट नराम्रा खबर मात्र आइरहेका छैनन्। यसका केही सकारात्मक प्रभाव पनि देखिएका छन्। यसका कारण परिवार र साथीजस्ता सम्बन्ध राम्रो भएको पनि देखिएको छ। आज धेरै मानिस परिवारको चिन्ता गरिरहेका छन्। सम्बन्धको महत्त्व नजिकबाट बुझिएको छ।
मानसिक स्वास्थ्यप्रतिको जागरुकता बढेको छ। मानसिक रोगका बिरामीप्रतिको दृष्टिकोण र संवेदनशीलता सुधारिएको छ। सामुदायिक भावना बढेको छ।
मनोचिकित्सक स्राफ भन्छिन्, ‘अहिले मानिसमा सामुदायिक एकताको भावना बलियो भएको छ। एकआपसी सहयोगको भावना पहिलेभन्दा बढेको छ।’
बीबीसी फ्यूचरबाट साभार
