जुम्ला,
७ असार
सात महिनासम्म जुम्ला खलंगामा सरसफाइ नभएपछि बिहीबार युवाहरुले नगरपालिकाको फोहोर उठाएर नगरपालिकाको गेटमा थुपारिदिए।
सांकेतिक विरोध स्वारुप फोहोर थुपारेका उनीहरुले प्रश्न गरेका थिए, ‘स्थानीय सरकार कहाँ छ ढल व्यवस्थापनमा सरोकारवाला निकाय किन मौन नगरपालिका के गर्दैछ
कुहिने र नकुहिने फोहोर वस्तु जताततै फालिदा बजार दुर्गन्धित त थियो। साथसाथै बजारको सुन्दरता हराउदै गएको थियो । बजारको अबस्था यस्तो हुदा पनि सरसफाइमा कसैले चासो नदेखाएपछि । फोहोर व्यवस्थापनमा खटिएका युवा धनराज सुनारले भने, ‘सम्बन्धित निकाय सुतेपछि बिउझाउनको लागि पनि हामिले यस्तो काम गर्नु परेको हो,।’
बजार सरसफाई गर्न हिडेका युवाहरुले बजारको फोहोर लिएर चन्नदननाथ नगरपालिकाको गेटमा राखिदिए ।
सफाई आन्दोलनमा उत्रिएका युवाहरुलाई व्यवस्थित गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भने, ‘फोहर व्यवस्थापनको जिम्मा स्थानीय तहको हो। हामी स्थानीय तहसँग कुरा गर्छौं। फोहोर व्यवस्थापन गर्ने डम्पिङ साइट नभएकोले यस्तो समस्या आएको मैले बुझेको छु। आज हामीले बैठक बोलाएका छौं,।’
शनिबार प्रजिअ भुपेन्द्र आफैँ कुचो लिएर सडकमा निस्किएपछि बजारको फोहोर उठेको छ। उनले सुरक्षा निकाय परिचालन गरे। यसमा साथ स्थानीय युवाहरुले पनि दिए। स्थानीय नागरिकले हातेमालो गरे।
चन्दननाथ (५ र ७ को कालेखोली, कृष्ण मन्दिर, जिल्ला प्रहरी कार्यालय, जुगाडखोलादेखि बीजयनगर सम्मको क्षेत्र सरसफाइ गरिएको छ ।
बजार सरसफाइ गर्न जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, नगरप्रमुख कान्तिका सेजुवाल, उद्योग वाणिज्य संघ, नेपाली सेना नेपाल प्रहरी राष्ट्सेवक कर्मचारी, युवा, गैरसरकारी संस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरु समेतले सहभागिता जनाएका थिए ।
बजारको फोहोर तत्कालका लागि खालगाड भन्ने स्थानमा व्यवस्थापन गर्ने निर्णय प्रजिअ थापाले बताए। ‘बजार क्षेत्रको फोहोरमैला फाल्नको लागि तोकिएको स्थानमा व्यवस्थापन गर्न घेरबार चन्दननाथ नगरपालिका मार्फत डिभिजन वन कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको उनले बताए ।
अब बजार सफा राख्नको लागि बजारको विभिन्न ठाउँमा फोहर मलाईु लेखिएको संकेत सहितको डस्बिन राखिने र दीर्घकालिन रुपमा फोहोर व्यवस्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन डिपीआर को तयारी भइरहेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् ।
तत्कालिन र दिर्घकालिन डम्पिङ साईडको व्यवस्था नहुने हो भने सुन्दर जुम्ला दिन प्रतिदिन कुरुप र दुर्गन्धित हुदै जाने स्थानीय बताउँछन्।
‘चुनावताका राजनीतिक पार्टीहरुले फोहोर व्यवस्थापनलाई मुख्य एजेन्डा बनाए पनि चुनाव जितेर आउनेले नगर सफा राख्न नसकेकोमा स्थानीयको गुनासो छ ।