काठमाडौ । रुकुम चौरजहारी घटनाको छानविन गर्न प्रतिनिधिसभाले गठन गरेको संसदीय बिशेष छानविन समिति असारको पहिलो साता स्थलगत अनुगमनका लागि त्यसतर्फ जाने भएको छ । शनिबार प्रतिनिधिसभामा संविधान संशोधनमाथिको भोटिङ सकिएपछि रुकुम र जाजरकोट जाने समिति संयोजक देवेन्द्र पौडेलले जानकारी दिए ।
रुकुम चौरजहारी घटनाको छानविनको प्रक्रियाका बारेमा सभामुख अग्नी सापकोटासंग छलफल गरेको संयोजक पौडेलले बताए । प्रतिनिधिसभाको गत सोमबारको बैठकले सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा संसदीय बिशेष छानविन समिति गठन गरेको थियो । समितिका सदस्यहरुमा सांसदहरु एकबाल मिया, दुर्गा पौडेल, पार्वती कुमारी बिशंखे, प्रकाश रसाइलि, बिमला बिक, महेश्वरजंग गहजराज, मिन बहादुर बिश्वकर्मा र रामशहाय प्रसाद यादव रहेका छन् ।
समितिलाई ३० दिनको समयावधी दिइएको छ । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए । त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो । घटनामा संलग्नता भएको आरोपमा प्रहरीले २५ भन्दा बढिलाई पक्राउ गरेको छ । घटनाको छानविनका लागि संसदले संसदीय समिति गठन गरेको हो ।