धनगढी, जेठ २८ – आरडिटी परीक्षण भरोसा योग्य नभएको भन्दै नेपाली कांग्रेस गौरीगंगा नगर कार्य समितिले सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णप्रसाद सुवेदीलाई ज्ञापन पत्र बुझाएको छ ।
आरडिटी परीक्षण भरपर्दो नभएको र ग्रामीण क्षेत्रका नागरिकलाई धेरै समय क्वारेन्टिनमा कैद गरिरहँदा असारमा किसानलाई खेतीपाती गर्न समस्या पर्ने भन्दै कांग्रेस नगर कार्यसमितिले क्वारेन्टिनमा रहेका नागरिकलाई चाँडो भन्दा चाँडो आरडिटी नभई पिसिआर परीक्षण गर्नुपर्ने माग राखेको हो । मन्त्री सुवेदीलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै परीक्षणको दायरा वृद्धि गर्नुपर्ने, आरडिटी परीक्षण नगरी पिसिआर परीक्षण गर्नुपर्ने, क्वारेन्टाइनलाई व्यवस्थित गरिनुपर्ने, प्रत्येक स्थानीय तहमा आइसुलेसनको व्यवस्था गर्नुपर्ने लगायतका माग राखिएको थियो ।
मागप्रति मन्त्री सुवेदीले सकारात्मक हुँदै भने,‘हामी तपाईहरुको मागप्रति सकारात्मक छौँ, प्रदेश सरकारले स्थानीय तहलाई बजेट दिए पनि त्यसलाई स्थानीय तहले सोचे जस्तो काम नगरिदिएका कारण समस्या भइरहेको छ ।’ कार्यक्रममा कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति दिनेशराज जोशी, जिल्ला कार्यसमिति सदस्यद्वय रामबहादुर कलेल, भोजबहादुर बम, गौरीगंगा नगर कार्य समिति सभापति काँशीराम शर्मा सचिव प्रकाश थापा, कांग्रेस नेताहरु यज्ञनिधि कोइराला, फणि सापकोटा, मोहन साउँद, विष्णु भाट तथा शिक्षक संघका प्रदेश कार्यसमिति सदस्य नरबहादुर देउवालगायतको सहभागिता रहेको थियो ।