धनगढी ,३१ जेठ
धनगढी उप–महानगरपालिकाको २३ औं कार्यपालिका बैंठकले बिनासकारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई नगद राहत दिने निर्णय गरेको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको छ । त्यसैगरी जेठ २३ गते आएको हावाहुरीमा परेर घाईते भएका आफ्नो नगरबासीको निशुल्क उपचार गर्ने निर्णय गरेको छ ।
नगरप्रमुख नृपबहादुर वडका अनुसार पूर्ण क्षति भएको घरधनीलाई ६ हजार, मध्यम क्षति भएकोलाई ३ हजार, पशुपक्षीमा भएको क्षतिलाई ३ हजार र ब्यावसायीक खेतीलाई ३ हजार राहत सहयोग गरिने छ । ब्यावसायीक खेतीको हकमा कम्तीमा एक बिगाहामा जमिन मापदण्ड राखेको छ । त्यसैगरी पूर्णरुपमा घरमा क्षति पुगेको घरकी ९० दिन भित्रका सुत्केरी महिलालाई १ हजार पाँचसय रुपियाँ सहयोग गर्ने निर्णय गरिएको पनि नगरप्रमुख वडले बताए ।
हावाहुरीमा परेर घाईते भएकाहरुको उपचार खर्च उप–महानगरपालिकाले ब्यहोर्ने छ । सरकारी अस्पतालमा उपचार गराईरहेकाहरुको खर्च जिल्ला प्रशासन कार्यालयले ब्यहोर्ने भएकाले निजी अस्पतालमा उपचार गराई रहेकाहरुको उपचार खर्च आफुहरुले ब्यहोर्ने निर्णय गरेको नगरप्रमुख वडले बताए । यसका उपचार गराएको बिल भर्पाईका आधारमा प्रतिब्यक्ति ५ हजार खर्च ब्यहोर्ने निर्णयमा सिमा तोकेको छ । राहत बुझ्नका लागि वडाको सिफारिस, प्रहरी मुचुल्का आवश्यक गर्ने भनिएको छ ।
जनप्रतिनिधी र कर्मचारीद्वारा एकदिनको तलब दिने
बिनासकारी हावाहुरीबाट क्षति पुगेका परिवारलाई राहत दिनका धनगढी उपमहानगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनको तलब दिने निर्णय गरेका छन् ।
प्रमुख प्रशासकिय अधिकृत नारायणप्रशाद सापकोटाका अनुसार सबै जनप्रतिनिधी र कर्मचारीहरुले एक दिनको तलव दिने निर्ण गरेको हो । धनगढी उपमहानगरपालिकाका जन प्रतिनिधी र कर्मचारीको संख्या तिन सयको हाराहारमी रहेको जनाएको छ । एक दिनको तलब मात्रै तिन लाख हाराहारीमा संकलन हुने बताईएको छ ।