धनगढी, २६ असोज / सुदूरपश्चिम प्रदेशका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित ‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानअन्तर्गत २१ वटा बुकलेट विमोचन गरिएको छ।
धनगढीको जेन्जी मार्गमा एलइडी बोर्डको उद्घाटन कार्यक्रमसँगै आयोजित कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले अभियानअन्तर्गत तयार पारिएका बुकलेट विमोचन गरेका हुन्।
विमोचित बुकलेटमा रामारोशन क्षेत्र, सालमुनी, पादुका त्रिवेणी धाम, बैद्यनाथ धाम, भागेश्वर मन्दिर, पञ्चदेवल विनायक , जगन्नाथ मन्दिर, पाताल भुवनेश्वर, भुइँया, अमरगढी किल्ला, शैल्य शिखर मालिकार्जुन मन्दिर, उदयदेव मन्दिर, अजमेरकोट, त्रिपुरा सुन्दरी, उग्रतारा मन्दिर, बेहडाबाबा धाम, घटालबाबा, पद्म प्रकाशेश्वर महादेव, शिवपुरी धाम, गुम्बाहरु र देवथान समेटिएका छन्। यस अघि अपि हिमाल र शैलेश्वरी का बुकलेट विमोचन भइसकेका हुँदा धनगढी उपमहानगरपालिकाले जम्मा २३ वटा बुकलेट प्रकाशन गरिसकेको जनाएको छ।
सुदूरपश्चिममा रहेका धार्मिक आस्थाका केन्द्र, ऐतिहासिक सम्पदा तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यको पहिचान र महत्त्वबारे जानकारी गराउने उद्देश्यले बुकलेट तयार पारिएका हुन्।
प्रचारप्रसारको अभावमा ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने र प्रदेशको पर्यटन सम्भावना उजागर गर्ने अभियानको लक्ष्य रहेको छ।
‘हाम्रो सुदूरपश्चिम, हामी चिनाउँछौं’ अभियानले सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानलाई व्यापक बनाउँदै पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।