कञ्चनपुर, २६ असोज / कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा जंगली हात्तीको बथान गाउँ पसेपछि स्थानीयवासी त्रसित बनेका छन्।
११–१२ हात्तीको बथानले पाकेर काट्ने तयारीमा रहेको धानबालीमा क्षति पुर्याएको छ।बेलडाँडीका पत्रकार बिमल धामीका अनुसार आइतबार मध्यरातमा बेलडाडी गाउँपालिका वडा नम्बर २ क्याम्प नजिकै टोलमा हात्तीको बथान पसेको थियो।
’बेमौसमी वर्षाका कारण धान काट्न ढिला भएको खेतमा एक दिन बिराएर हात्तीको बथान पस्ने गरेको छ,’ उनले भने,’ धान बालीमा ठूलो क्षती पुगाएको छ।’धान भित्र्याउने तयारी भइरहेका बेला हात्तीको बथान खेतबारीमै पसेर बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। वर्षभरि मेहनत गरेर लगाएको धानबाली भित्र्याउने बेलामा क्षति पुगेपछि उनीहरूको आम्दानीमा समेत असर पर्ने देखिएको छ।
हात्तीको बथान गाउँमै पसेर बालीनाली नष्ट गर्न थालेपछि स्थानीयवासी रातभर जाग्राम बस्न बाध्य भएका छन्।खेतबारीमा पसेका हात्ती धपाउन स्थानीयले रातभर प्रयास गरे पनि जनधन र बालीनाली जोगाउन चुनौती भइरहेको छ। कञ्चनपुरमा जंगली हात्तीका कारण बर्सेनि बालीनालीमा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत हुने गरेको छ।
भारतको दुधवा राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा हात्तीको आवागमन हुने भएकाले बस्तीमा हात्ती पस्ने समस्या दोहोरिँदै आएको छ। हात्तीको आतंक नियन्त्रण गर्न निकुञ्ज आसपासका क्षेत्रमा तारजालीको व्यवस्था गर्नुपर्ने र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने स्थानीयको माग छ।