धनगढी, २६ असोज / खेलकुदको विकास, पर्यटन प्रवर्द्धन तथा राना थारू कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा योगदान पुर्याएको भन्दै निसर्ग इन्डो–नेपाल जुगेडा कप भलिबल प्रतियोगिता २०८३ का मुख्य संयोजक सुरज रानालाई विशेष सम्मान प्रदान गरिएको छ।
संयुक्त राना जनचेतना परिवारद्वारा धनगढी उपमहानगरपालिका–१०, जुगेडामा असोज २० गतेदेखि २४ गतेसम्म आयोजित निसर्ग इन्डो–नेपाल जुगेडा कप २०८३ भलिबल प्रतियोगितालाई सफल, व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका रानालाई अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान गरिएको हो।
खेलकुदको विकाससँगै स्थानीय पर्यटनको प्रवर्द्धन, राना थारू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण तथा नेपाल–भारतबीचको आपसी सद्भाव र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन मुख्य संयोजकका रूपमा रानाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
खेलकुदलाई सामाजिक एकता, सांस्कृतिक पहिचान र आपसी भाइचारासँग जोड्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले जुगेडा क्षेत्रको पहिचान स्थापित गर्नुका साथै खेलकुद र पर्यटनको विकासमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ।
निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्तले उक्त सम्मान रानालाई प्रदान गरेका हुन्।
राना सामाजिक कार्य सँगै पत्रकारितामा समेत सक्रिय रहेका छन्।