धनगढी, २५ असाज / सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३र०८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रदेशसभामा पेस गरेको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले सरकारको वार्षिक आयव्यय विवरण प्रस्तुत गरेका हुन्।
नयाँ आर्थिक वर्ष सुरु भएको करिब तीन महिनापछि प्रदेश सरकारले बजेट ल्याएको हो। यसअघि गत असार १ गते नेपाली कांग्रेस नेतृत्वको सरकारले समान आकारको बजेट प्रदेशसभामा प्रस्तुत गरेको थियो। तर, बजेटलाई लिएर उत्पन्न विवाद र त्यसपछि भएको सत्ता परिवर्तनका कारण तत्कालीन सरकारले ल्याएको बजेट पारित हुन सकेन।
आइतबारको प्रदेशसभा बैठकले अघिल्लो सरकारले पेस गरेका विनियोजन विधेयक र आर्थिक विधेयक फिर्ता लिने प्रस्ताव स्वीकृत गरेसँगै नयाँ बजेट प्रस्तुत गर्ने बाटो खुलेको हो। त्यसपछि मन्त्री मल्लले चालु आर्थिक वर्षको नयाँ बजेट सार्वजनिक गरेका हुन्।