धनगढी, २५ असोज / धनगढी उपमहानगरपालिका–१४, बी गाउँ फूलबारीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा कात्तिक १३ देखि १९ गतेसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ, शृङ्गारिक महाआरती तथा शैक्षिक एवं धार्मिक महामहोत्सव आयोजना हुने भएको छ।
धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि, समाजमा शान्ति स्थापना र विद्यालयको सर्वाङ्गीण विकास गर्ने उद्देश्यले संगीतमय श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागिएको विद्यालयले जनाएको हो ।
महायज्ञमार्फत बी गाउँ फूलबारीसहित कैलाली जिल्ला, सुदूरपश्चिम प्रदेश तथा समग्र नेपालमा शान्तिको कामना गरिनेछ। साथै, मानव जीवनलाई सत्मार्गमा डोर्याउँदै भावी पुस्तालाई आदर्शवान्, नैतिकवान् र संस्कारयुक्त बनाउन तथा विद्यार्थीमा नैतिक शिक्षा र असल आचरणको विकास गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
महायज्ञअन्तर्गत ग्रहशान्ति, तुलादान, अन्नदान, ज्येष्ठ नागरिक सम्मान तथा कार्यसिद्धिका लागि विशेष हवनलगायत धार्मिक अनुष्ठान गरिनेछन्। श्रद्धालु भक्तजनका लागि मुख्य यजमान, सहयजमान तथा दैनिक कर्ता बन्न सक्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, व्यक्तिगत, सामूहिक तथा संस्थागत रूपमा शृङ्गारिक महाआरतीमा सहभागी हुन सकिने विद्यालयले जनाएको छ।
महायज्ञमा युवा कथावाचक आचार्य सत्यराज अवस्थीबाट संगीतमय श्रीमद् भागवत कथा प्रवचन गरिनुका साथै सामूहिक देवलिला झाँकी, भजन–कीर्तन तथा सन्देशमूलक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्।
विद्यालयका प्रधानाध्यापक गोविन्दराज जोशीका अनुसार सार्वजनिक बिदाका दिनलाई लक्षित गरी महायज्ञ आयोजना गर्न लागिएकाले विद्यार्थीको नियमित पठनपाठनमा बाधा पुग्ने छैन।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं धनगढी उपमहानगरपालिका–१४ का वडाध्यक्ष मानबहादुर बिष्टले महायज्ञलाई सफल बनाउन स्थानीयवासी, अभिभावक, समाजसेवी, बुद्धिजीवी तथा सम्पूर्ण श्रद्धालु भक्तजनलाई सहयोग र सहभागिताका लागि आग्रह गरेका छन्।