धनगढी, २५ असोज/विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या र तनाव बढ्दै गइरहेका बेला जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका-६ मा तनाव व्यवस्थापन, योग तथा ध्यानसम्बन्धी कार्यक्रम गरिएको छ।
विश्व मानसिक स्वास्थ्य दिवस २०२६ को अवसरमा सिविन नेपालअन्तर्गत बाल हेल्पलाइन धनगढीले शनिबार ‘Mental Health Matters’ परियोजना अन्तर्गत बासुदेवी माध्यमिक विद्यालयमा उक्त कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा बाल हेल्पलाइन धनगढीकी मनोचिकित्सा नर्स ममता धामीले तनाव व्यवस्थापनसम्बन्धी सत्र सञ्चालन गरेकी थिइन्। उनले मानसिक तनावका कारण, यसले व्यक्तिको जीवनमा पार्न सक्ने प्रभाव तथा तनाव न्यूनीकरणका उपायबारे सहभागीलाई जानकारी गराएकी थिइन्।पतञ्जलि जिल्ला योग समितिका सदस्य हेमन्तराज ओझाले सहभागीलाई योग तथा ध्यानको अभ्यास गराएका थिए। उनले योग तथा ध्यानले तनाव व्यवस्थापन र मानसिक स्वास्थ्य प्रवर्द्धनमा पुर्याउन सक्ने योगदानबारे जानकारी दिएका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी प्रतिनिधि, शिक्षक, मानसिक स्वास्थ्यसम्बन्धी समस्या भएका बालबालिका तथा किशोरकिशोरी र धनगढी उपमहानगरपालिका–६ का वडाध्यक्ष भागीराम चौधरीको सहभागिता रहेको थियो। कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी समस्या पहिचान, तनाव व्यवस्थापन तथा योग र ध्यानको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
