धनगढी, २५ असोज / कैलाली बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष धर्मराज तिमल्सिनाले ‘सुदूर कर्णाली सिङ्गिङ एण्ड डान्सिङ स्टार–२०२६’ प्रतियोगितामा गायन विधातर्फ द्वितीय स्थान (फर्स्ट रनरअप) हासिल गर्न सफल भएका छन्।
कैलाली बहुमुखी क्याम्पसको प्रतिनिधित्व गर्दै गायन विधामा प्रतिस्पर्धा गरेका तिमल्सिनाले आफ्नो गायन प्रतिभा, निरन्तर मेहनत र दर्शक–श्रोताको साथका आधारमा प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेका हुन्।
प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि तिमल्सिनाले आफूलाई विश्वास गरी अमूल्य मत प्रदान गर्ने, प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने र निरन्तर हौसला प्रदान गर्ने सम्पूर्ण व्यक्तित्व, दाजुभाइ, दिदीबहिनी तथा शुभचिन्तकप्रति आभार व्यक्त गरेका छन्।
उनले प्राप्त उपलब्धि आफ्नो व्यक्तिगत सफलतामा मात्र सीमित नभई आफूलाई साथ र सहयोग गर्ने सबैको साझा उपलब्धि भएको बताएका छन्।
विद्यार्थी राजनीतिसँगै सांगीतिक क्षेत्रमा समेत सक्रिय तिमल्सिनाको यस सफलतालाई प्रतिभा, लगनशीलता र निरन्तर प्रयासको सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।
तिमल्सिनाले आफूलाई प्राप्त माया, विश्वास र सहयोगलाई आगामी दिनमा अझ राम्रो गर्ने प्रेरणाका रूपमा लिँदै सबै शुभचिन्तकप्रति धन्यवाद व्यक्त गरेका छन्।