धनगढी, २४ असोज / दसैँको अवसर पारेर धनगढीमा ‘दसैँ सांस्कृतिक उत्सव २०८३’ आयोजना हुने भएको छ। ‘संस्कृतिको झङ्कारसँगै मानव सेवा र परोपकार’ भन्ने नारासहित आयोजना हुन लागेको उत्सवमा आरके थारू एन्ड सङ्घाती ब्यान्डसँगै विशेष अतिथि कलाकार मधु चौधरीको प्रस्तुति रहने आयोजकले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका छन्।
धनगढीस्थित ओम प्यालेसमा आयोजना हुने उत्सवले सुदूरपश्चिमको सांस्कृतिक पहिचान, कला र सङ्गीतलाई प्रवर्द्धन गर्नुका साथै दसैँको खुसीलाई सांस्कृतिक उत्सवसँग जोड्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गरिने कार्यक्रमका कैलाली जिल्ला संयोजक तथा माछा घर रेष्टुरेन्टका सञ्चालक राजाराम चौधरीले जानकारी दिए।
विशेषगरी थारू समुदायको कला, संस्कृति र सांगीतिक पहिचानलाई उजागर गर्ने उद्देश्यले आयोजना हुने यस्ता कार्यक्रमले सुदूरपश्चिमको सांस्कृतिक विविधतालाई थप चिनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। उत्सवको नाराले मनोरञ्जनसँगै मानव सेवा र परोपकारलाई समेत प्राथमिकता दिएको कार्यक्रमका मूल संयोजक टिकाराम चौधरीले बताए छन्।
यस्तै आयोजकले अर्को कार्यक्रम बर्दियाको राजापुरस्थित डायमन्ड होटल एन्ड पार्टी प्यालेसमा कात्तिक २ गते हुन गैरहेको जानकारी दिए। कार्यक्रममा आरके थारू एन्ड सङ्घाती ब्यान्ड र विशेष अतिथि कलाकार मधु चौधरीको प्रस्तुति रहने जनाइएको छ।
कार्यक्रमका टिकट ईसेवामा उपलब्ध रहेको सँगै धनगढीमा असोज ३१ गते हुन गइरहेको उत्सवका लागि जाखोर ताल नजिक रहेको माछाघर र बसेरा होटेलमा पुगेर समेत लिन सकिने कैलालीका मूल संयोजक चौधरीले जानकारी दिए।
प्रति टिकट २५० रुपैयाँ निर्धारण गरिएको छ।