बैतडी, २३ असोज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरिरहेको ‘हामी आउँदैछौँ, हामी सुन्छौँ’ अभियानअन्तर्गत बैतडीमा जिल्लाका ३१ वटा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँग अन्तरक्रिया गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बैतडीमा माननीय ज्ञानेन्द्र महताज्यूको उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्लाका समसामयिक समस्या, नागरिकका गुनासा तथा सार्वजनिक सेवा प्रवाहको अवस्थाबारे छलफल गरिएको रास्वपाका प्रदेश सार्वजनिक मामिला विभागका पूर्वउपप्रमुख विशाल भट्टले जानकारी दिए।
कार्यक्रममा जिल्ला अदालतका प्रमुख, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीका जिल्ला प्रमुख, संघीय तथा प्रदेश सरकारअन्तर्गतका विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा प्रतिनिधि र रास्वपाका विभिन्न तहका नेता तथा पदाधिकारीहरूको सहभागिता रहेको थियो।
अन्तरक्रियाका क्रममा जिल्लाका विभिन्न सरकारी कार्यालयमा देखिएका समस्या, सेवा प्रवाहमा भइरहेका कठिनाइ तथा तिनका कारणबारे जानकारी लिइएको थियो। सम्बन्धित कार्यालयहरूबाट कार्यप्रगति र समस्यासम्बन्धी प्रतिवेदनसमेत माग गरिएको भट्टले बताए।
त्यस्तै, विभिन्न पालिकामार्फत प्राप्त जनगुनासा, समयमा सम्पन्न हुन नसकेका विकास निर्माणका काम तथा नागरिकले सरकारी सेवा लिने क्रममा भोग्नुपरेका समस्याबारे गम्भीर छलफल गरिएको थियो।
कार्यक्रममा नागरिक सेवालाई पहिलो प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई आफ्नो जिम्मेवारीप्रति उत्तरदायी बन्न आग्रह गरिएको थियो। सरकारी सेवा प्रवाहलाई पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउन, जनताका गुनासालाई प्राथमिकताका साथ सम्बोधन गर्न तथा प्रत्येक नागरिकले मुस्कानसहितको सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको भट्टले बताए।
जनताका समस्या सुन्ने मात्र नभई तिनको समाधानका लागि सम्बन्धित निकायलाई जिम्मेवार बनाउने र सार्वजनिक सेवा प्रवाहलाई सहज, प्रभावकारी तथा जवाफदेही बनाउने उद्देश्यले अन्तरक्रिया आयोजना गरिएको उनले बताए।
कार्यक्रममा रास्वपाका प्रदेश उपसभापति भोजराज जोशी, नेता शिवराज पन्त, प्रदेश समिति सदस्य मीना रोकाया, नेता शम्भु बम तथा जिल्ला सभापति भीमनाथलगायतको सहभागिता रहेको थियो।
‘जनताका आवाज सुनौँ, समस्याको समाधान खोजौँ’ भन्ने उद्देश्यसहित सञ्चालन भइरहेको अभियानले नागरिकका वास्तविक समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको भट्टले बताए।