धनगढी, २३ असोज / दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशमा विशेष सुरक्षा योजना लागू गरिएको छ। चाडपर्वका बेला हुन सक्ने आपराधिक तथा अवैध गतिविधि नियन्त्रण गर्नुका साथै यात्रुको सुरक्षित आवागमन सुनिश्चित गर्न प्रहरीले प्रदेशभर सुरक्षा व्यवस्था कडा बनाएको हो ।
चाडपर्वको समयमा हुने चोरी, लुटपाट, ठगी, झैझगडा, लागूऔषध कारोबार तथा सीमा क्षेत्रमा हुन सक्ने अवैध गतिविधि नियन्त्रण गर्न सुरक्षा संयन्त्रलाई सक्रिय बनाइएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत प्रदेशभर ४ हजार ५ सय ५ जना प्रहरी कर्मचारी परिचालन गरिनेछ। सुरक्षा संवेदनशीलता, जनघनत्व, सम्भावित जोखिम र आपराधिक गतिविधिको अवस्थालाई विश्लेषण गरी प्रहरी परिचालनको व्यवस्था मिलाइएको छ। प्रदेशका मुख्य सहर, बजार क्षेत्र, सार्वजनिक स्थल, यातायातका केन्द्र, सीमा नाका तथा बढी भीडभाड हुने स्थानलाई प्राथमिकतामा राखेर सुरक्षा निगरानी बढाइएको प्रहरीले जनाएको छ।
सुरक्षा योजनाअन्तर्गत प्रदेशभर १ हजार १ सय ५१ स्थानमा प्रहरी ड्युटी व्यवस्थापन गर्ने तयारी गरिएको छ। सम्भावित जोखिमयुक्त क्षेत्रमा नियमित गस्ती, आकस्मिक चेकजाँच तथा निगरानी बढाइएको छ। प्रहरीले सर्च अप्रेसन, कमाण्ड पोस्ट र यात्रु सहायता कक्ष स्थापना गरी सुरक्षा गतिविधिलाई व्यवस्थित बनाएको छ। नेपाल प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रूपमा विभिन्न स्थानमा सवारीसाधन तथा यात्रुको चेकजाँचसमेत सुरु गरेका छन्।
चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढ्ने र सार्वजनिक यातायातमा भीडभाड हुने भएकाले मुख्य सडक, बसपार्क तथा यात्रुको आवागमन बढी हुने स्थानमा विशेष निगरानी राखिएको छ। यात्रुलाई यात्राका क्रममा पर्न सक्ने समस्या, गुनासो तथा सम्भावित ठगीबाट जोगाउन यात्रु सहायता कक्ष स्थापना गरिएको हो। सवारीसाधनको अवस्था, चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति तथा ट्राफिक नियम उल्लङ्घन नियन्त्रण गर्न पनि संयुक्त चेकजाँचलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक महेन्द्र नेपालले सुरक्षा रणनीति तयार गरी वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृतको कमाण्डमा प्रहरी परिचालन गरिने बताए। चाडपर्वका बेला हुन सक्ने सम्भावित घटनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले जोखिमको प्रकृतिअनुसार प्रहरी परिचालन र निगरानीलाई प्रभावकारी बनाइने जानकारी दिए। सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न पनि प्रहरीले विशेष सतर्कता अपनाएको छ। विशेषगरी तराईका जिल्लाका सीमा नाकामा कुकुरसहितको चेकजाँच सुरु गरिएको छ। सीमा क्षेत्रमा हुन सक्ने चोरी, तस्करी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको प्रहरीले जनाएको छ। भारतबाट घर फर्किने नेपाली नागरिकको आवागमनलाई व्यवस्थित बनाउनुका साथै सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि रोक्न सुरक्षा निकायलाई सक्रिय बनाइएको छ।
यसैगरी बजार क्षेत्र, सार्वजनिक स्थल, बैंक तथा वित्तीय संस्था र व्यापारिक क्षेत्रमा नियमित तथा आकस्मिक गस्ती बढाइएको छ। चाडपर्वका बेला आर्थिक कारोबार बढ्ने र मानिसहरू किनमेल तथा अन्य काममा व्यस्त हुने भएकाले चोरी, लुटपाट तथा ठगीका घटना हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा निगरानी बढाइएको हो। भीडभाड हुने स्थानमा सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै आवश्यकताअनुसार मोबाइल गस्ती र आकस्मिक प्रहरी परिचालनको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।
प्रदेशको सबैभन्दा बढी जनसंख्या भएको कैलाली जिल्लामा मात्रै चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका लागि १ हजार १ सय ४६ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। जिल्लाका प्रमुख बजार, राजमार्ग, बसपार्क, सीमा नाका, वित्तीय संस्था तथा भीडभाड हुने क्षेत्रमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलालीमा मोबाइल तथा पैदल गस्ती, सादा पोशाकका प्रहरी, क्विक रेस्पोन्स टिम (क्यूआरटी), स्ट्राइकिङ टोली र रिजर्भ टोली परिचालन गरिनेछ। सम्भावित आपराधिक गतिविधिसम्बन्धी सूचना संकलन तथा विश्लेषण गरी घटनाको प्रकृतिअनुसार तत्काल प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। कुनै घटना भएमा छिटो प्रतिक्रिया जनाउन सक्ने गरी प्रहरी जनशक्ति तयारी अवस्थामा राखिने प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले चाडपर्वका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर प्रहरी परिचालन गरिएको बताए। सुरक्षा संवेदनशील क्षेत्रको पहिचान गरी निगरानी बढाइएको उल्लेख गर्दै उनले सम्भावित घटनाको सूचना प्राप्त हुनासाथ आवश्यक कारबाही अघि बढाउने गरी सुरक्षा संयन्त्र परिचालन गरिएको जानकारी दिए। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले स्थानीय तह, ट्राफिक प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा अन्य सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने जनाएको छ। विभिन्न निकायबीच सूचना आदानप्रदान तथा संयुक्त सुरक्षा गतिविधिमार्फत चाडपर्वका बेला हुन सक्ने जोखिम न्यूनीकरण गर्ने प्रहरीको योजना छ।
दशैं, तिहार तथा छठ पर्वका बेला धेरै नागरिक परिवारसहित गाउँघर जाने, लामो समय घर खाली रहने र बजारमा किनमेल गर्ने मानिसको चाप बढ्ने भएकाले व्यक्तिगत सतर्कता पनि आवश्यक रहेको प्रहरीले जनाएको छ। घर, पसल तथा कार्यालय छाडेर बाहिर जाँदा ढोका–झ्याल राम्रोसँग बन्द गर्न, सम्भव भएसम्म छिमेकीलाई जानकारी दिन र नगद तथा बहुमूल्य सामान सुरक्षित राख्न प्रहरीले अनुरोध गरेको छ। त्यसैगरी अपरिचित व्यक्तिलाई विश्वास गरेर आर्थिक कारोबार नगर्न, अनलाइन तथा फोनमार्फत हुने ठगीबाट सचेत रहन, यात्रा गर्दा आफ्नो सामानको सुरक्षा गर्न र कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी दिन प्रहरीले आग्रह गरेको छ। मादक पदार्थ सेवन गरी सवारी नचलाउन, ट्राफिक नियम पालना गर्न र यात्राका क्रममा समस्या परे नजिकैको प्रहरी वा यात्रु सहायता कक्षमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।
चाडपर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यसहित सुरक्षा योजना लागू गरिएको प्रहरीले जनाएको छ। प्रहरी परिचालनसँगै नागरिकको सहयोग र सतर्कता पनि उत्तिकै आवश्यक हुने भएकाले सुरक्षा निकाय र समुदायबीचको सहकार्यले सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।