डडेलधुरा, २३ असोज / अमरगढी नगरपालिका–५, खलङ्गास्थित महेन्द्र माध्यमिक विद्यालयका विद्यार्थीले घरदैलो कार्यक्रम गरेका छन् । साइबर अपराध, यौनहिंसा, मानसिक तनाव तथा यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा समुदायमा सचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गरेका हुन् ।
विद्यालयमा यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण लिएपछि विद्यार्थीले सिकेका विषयलाई समुदायसम्म पुर्याउने उद्देश्यले विद्यालयको युवा रेडक्रस सोसाइटी र महेन्द्र नमुना बालक्लबका पदाधिकारीको सहभागितामा घरदैलो कार्यक्रम सञ्चालन गरेका हुन् । घरदैलोका क्रममा विद्यार्थीले किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको महत्व, यौनहिंसाबाट बच्ने उपाय, साइबर अपराधबाट जोगिने तरिका र मानसिक तनाव व्यवस्थापनका विषयमा अभिभावक तथा समुदायका सदस्यलाई जानकारी गराइरहेका छन् । किशोरकिशोरीले आफ्नो शरीर, स्वास्थ्य र अधिकारका विषयमा सही जानकारी पाउनुपर्ने तथा कुनै समस्या परेमा अभिभावक, शिक्षक वा सम्बन्धित व्यक्तिसँग खुलेर छलफल गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा विद्यार्थीले जोड दिएका थिए ।
विद्यालयमा प्राप्त गरेको ज्ञानलाई समुदायसम्म पुर्याउँदै अभिभावकलाई समेत किशोरकिशोरीका समस्या र अधिकारका विषयमा सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको परियोजना संयोजक आयुषा श्रेष्ठले बताए । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) काठमाडौँले पपुलेसन कनेक्सनको सहयोगमा सञ्चालन गरेको किशोरी सशक्तीकरण परियोजना अन्तर्गत विद्यार्थीलाई यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी अभिमुखीकरण दिइएको थियो । सोही अभिमुखीकरणपछि विद्यार्थीलाई समुदायमा सचेतना फैलाउने अभियानमा परिचालन गरिएको हो । कार्यक्रममा २० जना विद्यार्थीको सहभागिता थियो । विद्यार्थीमार्फत घरपरिवार र समुदायमा सचेतना पुर्याउँदा किशोरकिशोरीले भोग्ने समस्या समयमै पहिचान गर्न र आवश्यक सहयोग तथा परामर्शको वातावरण बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको रुडुक डडेलधुराका कार्यकारी निर्देशक अमरबहादुर साउदले बताए।