बैतडी, २३ असोज / बैतडीका स्थानीय तहले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक, विद्यार्थी र स्थानीय सरकारबिच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् । शिक्षाविद्सहित शिक्षाक्षेत्रका सरोकारवालासँग गरिएको शैक्षिक परामर्शमा स्थानीय तहको वर्तमान शैक्षिक अवस्था, चुनौती र सुधारका उपायबारे छलफल गर्दै गुणस्तरीय शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो ।
मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकाले आयोजना गरेका छुट्टाछुट्टै शैक्षिक परामर्श कार्यक्रममा शिक्षाविद्, प्रधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षाक्षेत्रका सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर सुधारका विषयमा छलफल गरेका हुन् ।
शिक्षाविद् प्राध्यापक डा. विद्यानाथ कोइरालाले विद्यालय शिक्षालाई परीक्षामुखी ज्ञानमा मात्र सीमित नगरी जीवनोपयोगी, व्यावहारिक र नैतिक शिक्षासँग जोड्नुपर्नेमा जोड दिए । विद्यार्थीले विद्यालयबाट प्राप्त गरेको ज्ञानलाई दैनिक जीवन, समाज र भविष्यको रोजगारीसँग जोड्न सक्ने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । उनले विद्यालय शिक्षाले विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, सिर्जनशीलता, जिम्मेवारीबोध र नैतिक आचरण विकास गर्नुपर्नेमा जोड दिए । विद्यार्थीको आवश्यकता र क्षमतालाई केन्द्रमा राखेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न सके मात्र सिकाइ उपलब्धिमा सुधार ल्याउन सकिने उनको भनाइ छ ।
मेलौली नगरपालिकामा आयोजित कार्यक्रममा नगरपालिकाभित्रको शैक्षिक अवस्थाको समीक्षा गर्दै विद्यालयमा देखिएका समस्या, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि, अभिभावकको सहभागिता र स्थानीय तहको शैक्षिक भूमिकालगायत विषयमा छलफल गरिएको शिक्षा शाखा प्रमुख मुनुकुमारी क्षेत्रीले बताए ।
कार्यक्रममा नगरप्रमुख भीमबहादुर चन्दले नगरपालिकाको विकास र समृद्धिको आधार शिक्षा भएकाले शिक्षाक्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए । यस्ता छलफलबाट शिक्षाक्षेत्रका समस्या पहिचान गरी सुधारका लागि साझा धारणा बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।