बाजुरा, २३ असोज / बाजुराको खप्तडछेडेदह–६ को मैतोलावासी केरा खेतीमा आकर्षित हुन थालेका छन् । गाउँमा उत्पादन भएको अर्गानिक केराले बजार पाउने सम्भावना देखिएपछि मैतोलवासीको केरा खेतीमा आकर्षण बढ्दै गएको हो ।
मैतालाको जमिन केरा खेतीका लागि निकै उर्वर छ । यहाँ अहिले स्थानीय जातको केरा राम्रो उत्पादन भइरहेको छ । पछिल्लो समय गाउँमा सडक पुगेसँगै यहाँको उत्पादन बजार पुर्याउन पनि सहज हुनु थालेको स्थानीय खगेन्द्रनाथ योगीले बताए ।
अन्य गाउँबस्तीमा फाटफुट रूपमा केरा उत्पादन हुने गरेको भए पनि मैतोलामा भने केरा राम्रो उत्पादन हुने गर्छ ।
योगीले सरकारले केरा खेतीमा सहयोग गरेमा गाउँको बाँझो जमिनको सदुपयोग हुनुका साथै बेरोजगारी युवाले रोजगारी पाउन सक्ने सम्भावना देखिएको बताए ।
गाउँमा पहिरो रोक्न यहाँका बासिन्दालाई केरा लगाउन उत्प्रेरित गर्दै आएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ तर व्यावसायिक खेती गर्न भने अनुदानका कार्यक्रम भने नरहेको केन्द्रले जनाएको छ ।