धनगढी, १९ असोज / थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक परम्पराका रूपमा रहेको सखिया नाचको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले धनगढीमा विशेष सखिया नाच प्रदर्शन हुने भएको छ।
धनगढी उपमहानगरपालिकाको कार्यालय परिसरमा असोज २१ गते दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म विशेष सखिया नाच प्रदर्शन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
कृष्णलीला तथा महाभारतका कथावस्तुमा आधारित गीतमा युवतीहरूले सामूहिक रूपमा गायन गर्ने र युवाहरूले मादलको तालमा साथ दिने सखिया नाच थारू समुदायको मौलिक पहिचान, धार्मिक आस्था, कला, भाषा, परम्परा तथा सामाजिक एकताको महत्वपूर्ण प्रतीकका रूपमा रहँदै आएको छ।
परम्परागत रूपमा अस्तिम्की पर्वदेखि सुरु भएर दशैँ हुँदै दीपावलीसम्म करिब एक महिनासम्म गाउँघरमा सखिया नाच प्रदर्शन गर्ने चलन रहे पनि पछिल्लो समय शिक्षा, रोजगारी, वैदेशिक पलायन तथा बदलिँदो सामाजिक परिवेशका कारण यसको अवधि छोटिँदै र प्रदर्शन सीमित हुँदै गएको आयोजकको भनाइ छ।
यस्तो अवस्थामा नयाँ पुस्तालाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै सखिया नाचको संरक्षण तथा पुस्तान्तरणका लागि सामाजिक रूपमा सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले एकदिने विशेष कार्यक्रम आयोजना गर्न लागिएको आयोजकको भनाई छ।
आयोजकले कार्यक्रमलाई केवल नृत्य प्रदर्शनका रूपमा नभई थारू समुदायको मौलिक संस्कृति, परम्परा, भाषा, कला र सांस्कृतिक पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने अभियानका रूपमा लिएको छ।